काठमाडौं- बजारमा मूल्यवृद्धि ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०७९-०८० को ६ महिनाको तथ्यांकअनुसार एकाधबाहेक हरेक वस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा वृद्धि भएको देखाएको हो।
चालू आवको पुससम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ। जबकि गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो। अहिले खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत बढेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ। मूल्य थोकवस्तुमै अकासिएकोले कृत्रिमभन्दा प्राकृतिक महँगी बढेको ठहर गर्न सकिन्छ। केन्द्रीय बैंकका अनुसार पुससम्ममा थोक मुद्रास्फीति ९.८२ प्रतिशत छ। गत वर्ष यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो।
अर्थविद् डा.डिल्लीराज खनाल तुलनात्मक रूपमा केही सुधारका संकेतहरू देखिए पनि मूल्यवृद्धि उच्च भएको टिप्पणी गर्छन्। उनका अनुसार समग्र अर्थतन्त्र सुस्त नै भएको छ, कामकाजको क्रयशक्ति घटिरहेको छ र उद्योग, व्यवसायको उत्पादन घटिरहेकाले समग्र स्थितिमा इन्धनको मूल्यको दबाब छ। ‘त्यो पनि कठोर मौद्रिक नीति, उच्च ब्याजदरको बेलामा पनि मूल्य निरन्तर बढेकाले यो चिन्ताको विषय हो,’ उनले अन्नपूर्णसँग भने। विप्रेषणमा भएको सुधारका कारणले विदेशी मुद्रा सञ्चितिमा आएको अनुकूलित स्थितिलाई सकारात्मक लिनुपर्ने उनले बताए।
विदेशी मुद्रा आम्दानीको मुख्य स्रोत बनेको विप्रेषण २४.३ प्रतिशतले वृद्धि भएको छ। चालू आवको पुससम्ममा वृद्धि भई ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ। गत आवमा ५.७ प्रतिशतले घटेको थियो।
विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान विप्रेषणले पु¥याउँदा र आयातमा केही कमी आउँदा यस्तो मुद्रा सञ्चितिमा पनि सुधार देखिएको छ। पुससम्ममा नेपालसँग कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड छ। अमेरिकी डलरमा यस्तो सञ्चिति असारको तुलनामा ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ। उक्त सञ्चितिले ९।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। सञ्चिति दबाबमा नियन्त्रण आउनुको अर्को कारण आयातीत वस्तुमा गरेको कडाइले पनि भएको मानिएको छ।
आयातमा नियन्त्रण भएकैले कुल वस्तु व्यापारघाटा १९।२ प्रतिशतले घटेको छ। तथ्यांकले पनि ६ महिनामा कुल वस्तु आयात २०।७ प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ। जबकि गत वर्ष आयात ५१।१ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९।४ प्रतिशत, २४।६ प्रतिशत र २१।४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायानिक मल, सुन, अन्य स्टेसनरी सामानलगायतका वस्तुको आयात बढेको छ। सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस बिलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतका वस्तुको आयात घटेको छ।
यसैगरी, कुल वस्तु निर्यात ३२ प्रतिशतले कमी आई ८० अर्ब ८१ करोड रुपैयाँ कायम भएको छ। गत वर्ष निर्यात ९५।५ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४०।१ प्रतिशत र २५।२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ३।६ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ। सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ।


विश्व खबर 



















