काठमाडौं- गत आर्थिक वर्ष ०७८/७९ मा मुलकभर ६ लाख १७ हजार ५ सय ६६ वटा घरजग्गा रजिष्ट्रेसन भएका छन् । अघिल्लो आर्थिक वर्ष ०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेसन १२.८ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेसनको संख्या बढेपनि त्यसबाट प्राप्त हुने राजस्व भने अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२ प्रतिशतले घटेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।
जसअनुसार गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेसनवापत ३९ अर्ब ४३ करोड ३५ लाख राजस्व उठेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो राजस्व ६४.९ प्रतिशतले बढेकोे थियो ।
घरजग्गाको रजिष्ट्रेसन संख्या बढेपनि शहरका बाहिरी इलाकामा धेरै कारोबार भएको र तिनको मूल्यांकन कम हुने भएकाले रजिष्ट्रेसनवापतको राजश्वमा कमी आएको प्रतिवेदनले औंल्याएको छ ।
यस्तै, अघिल्लो आर्थिक वर्षमा ३.३ प्रतिशतले घटेको घररभवन नक्सा पास संख्या भने गत आर्थिक वर्षमा ०.२ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ ।
गत आर्थिक वर्षमा वाग्मती प्रदेशमा सबैभन्दा बढी १ लाख ६० हजार ६२१ र कर्णाली प्रदेशमा सबैभन्दा कम १८ हजार ५ सय ५५ घरजग्गा किनबेच (रजिष्ट्रेसन संख्या) कारोबार भएको छ ।
यसैगरी, समीक्षा वर्षमा वाग्मती प्रदेशमा सबैभन्दा बढी २३ हजार ७१८ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ हजार ९३ वटा घररभवन स्थायी नक्सापास भएको प्रतिवेदनले देखाएको छ ।


विश्व खबर 



















