images
images
  • बढ्दो चिनियाँ हस्तक्षेपः कसरी फैलाउँदैछ जालो

    काठमाडौं -नेपालको एक महत्वपूर्ण छिमेकी देश चीन । देशको उत्तरी सिमानासँग जोडिएको उक्त विशाल मुलुकसँग नेपालको सम्बन्ध निकै पुरानो मानिन्छ । नेपालीका पुर्खाहरुले भोट –जसलाई चिनले आफ्नो देशको अंश मान्छ) सँग विभिन्न किसिमको व्यापार गर्ने गरेको इतिहास छ ।

    उसो त नेपाललाई दुइ ढुंगाबिचको तरुल भन्दै तत्कालीन ऐतिहासिक राजा पृथ्वीनारायण शाहले पनि परिभाषित गरेका थिए । त्यतिबेला दुइ विशाल र शक्तिशाली देशकोबिचमा बसेको नेपाललाई ढुंगाबिचमा च्यापिएको तरुलजस्तै भनिएको हो ।
    त्यसअघि चीनको थाङ राजवंशका पालामा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचन गम्पोसँग विवाह भएको इतिहास पनि छ । चीनसँग ऐतिहासिक सम्बन्धका विविध पाटाहरु हुँदाहुँदै पनि भौगोलिक हिसाबले विशेष व्यापारिक माहोल भने बन्न सकेको छैन । नेपालको लामो गृह युद्धको शान्ति प्रक्रियापश्चात मात्रै चीनसँग प्रभावकारी व्यापारिक विषयको कुरा चर्चा चुलिएको छ ।

    २०७१ सालमा चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणमा गएका बेला भारत र चीनबीच कैलाश–मानसरोवर यात्रीको सहजताका लागि नेपाल, भारत र चीनको त्रिदेशीय सीमा लिपुलेकबाट नाका खोल्ने सहमति भयो । सोही विषयले निकै चर्चा पायो । त्यसपछि २०७२ सालमा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीपछि मात्रै चीनसँगको व्यापारको प्रयास थालिएको हो । यी सबै पृष्ठभूमीकाबिच चीनले नेपालमाथि आफ्नो प्रभाव बढाउन थालेको जानकारहरु बताउँछन् ।

    बढ्दो चिनियाँ जालो

    नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्ध हुँदाहुँदै पनि भाषिक र सांस्कृतिक भिन्नताका कारण जनस्तरको त्यति प्रगाढ सम्बन्ध भने थिएन । तर पछिल्लो समय अन्तर्राष्ट्रिय भाषामा चिनियाँ र नेपालीहरुको पुहँच बढ्दै गएपछि स्वभाविक अन्तरसम्बन्धहरु पनि बढिरहेको पाइन्छ ।

    पछिल्लो दशकमा चीन विश्व शक्ति राष्ट्रमा अमेरिकालाई उछिनिरहेको छ । जसको अर्थ उसले संसारभरी स्वभाविक रुपमा आफ्नो अधिपत्य जमाइरहेको छ । यसैको फलस्वरुपमा नेपालमा पनि चिनियाँ उपस्थिति बाक्लिँदो छ । नेपालमा चिनियाँहरुले आफ्नो लगानी ह्वात्तै बढाइरहेका छन् भने यहाँ आउ जाउ बाक्लिदो छ । नेपालमा भएको अन्तर्राष्ट्रिय लगानीको ४० प्रतिशतभन्दा बढी हिस्सा चीनले नै ओगटेको तथ्यांक छ ।

    संसारमा शक्तिशाली बनिरहेको चीनले आफूसँग सीमा जोडिएको नेपालमा आफ्नो पहुँच बढाउनु स्वभाविक भए पनि सामरिक हिसाबले पनि आफ्नो जालो फैलाइरहेको जानकारहरु बताउँछन् । ‘पूँजीपति देशको सूचीमा चीन अघि बढिरहेको सन्दर्भमा यहाँ लगानी बढ्नुलाई अन्यथा लिनु हुँदैन । यसमा पनि चीनको एक नजिकको प्रतिस्पर्धी देश भारत हो । नेपालमा देखिएको भातीय दबदबा हटाइ आफ्नो दबदबा जमाउन खाजेको हो कि जस्तो पनि देखिन्छ ।’ पूर्व सचिव द्वारिकानाथ ढुंगेल भन्छन्, ‘आफ्नो कमजोर भूमी तिब्बतलाई लिएर भारतमा देखिएका नकारात्मक टिकाटिप्पणीको डिफेन्समा नेपाली भूमीलाई प्रयोग गरेको पनि देखिन्छ । ’

    ‘कन्फ्युसियस सेन्टर’को बढ्दो प्रभाव

    एक स्वतन्त्र देश चीनको इतिहास पाँच हजार वर्षको छ । योबीचमा एउटा आधुनिक सम्पन्न र शक्तिशाली चीनको निर्माणअघि ठूलो विनाश, अपमानपश्चात भएको पाइन्छ । सन् १८४० को अफिम युद्धपछि चीनले ठूलो क्षति व्यहोनुपरेको थियो । त्यसपछि सन् १९१७ मा रूसमा भएको अक्टोबर क्रान्तिसँगै माक्र्सवाद–लेनिनवाद पनि चीनमा भित्रिएपछि सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) निर्माण भएको हो । लामो संघर्षपश्चात विश्व शक्तिको होडमा दौडिरहेको चीनसँग अन्य प्रतिपर्धामा रहेका महाशक्तिसँग स्वभाविक वैमन्यसता उत्पन्न भए । यी आम तमाम समस्याबीच आजको विश्वशक्तिको हैसियत बनाइसकेको चीनले अहिले आफ्नो एक महान दर्शन कन्फुसियसको माध्यमबाट नेपालजस्ता देशहरुमा आफ्नो विस्तार बढाइरहेको छ ।

    नेपालमा चिनियाँहरुको प्रभुत्व बढिरहेसँगै ‘कन्फुसियस सेन्टर’ मार्फत विस्तारै भाषा र संस्कृति फैलाइरहेको पाइन्छ । इतिहासअनुसार नेपालमा गौतम बुद्धको दर्शको खोजी भइरहेकै समयमा चीनमा पनि महान दार्शनिकका रुपमा कन्फुसियस थिए । उनलाई चीनको सांस्कृतिक धरोहर मान्दै यूनेस्कोले विश्व धरोहरका सूचीमा पनि समावेश गरिसकेको छ । समाज सुधारक रुपमा चिनिने उनै कन्फुसियसलाई अहिले कम विकसित र अशिक्षित समाजमा आफ्नो जालो फैलाउन चीनले प्रयोग गरिरहेको जानकारहरु बताउँछन् ।

    कन्फ्युसियस सेन्टर मार्फत कयौं नेपाली विद्यालयहरुमा चिनियाँ भाषा पढाउँछन् । मुख्यगरी कन्फ्युसियस सेन्टर नै नामाकरण गरिएका केही सेन्टर मात्रै भए पनि अघोषित रुपमा चिनियाँ भाषा र संस्कृतिको प्रभाव भने बढिरहेको छ । चीन नेपाल जानकार डा. रमेश ढुंगेल भन्छन्, ‘रणनीतिक रुपमा तिब्बतलाई सुरक्षित राख्ने बहाना होस् या आफ्नो अधिपत्य जमाउन होस् । चीनले पछिल्लो समय ‘कन्फ्युसियस सेन्टर’ मार्फत पनि नेपालमा अत्यन्तै सक्रियता बढाउँदेछ ।’

    वि.सं २०७१ असोज २९ मा नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक परिचालन गर्नेबारे चीन र शिक्षा मन्त्रालयबीच सम्झौता भएको हो । सो सम्झौताअनुसार नै अहिले चिनियाँ स्वयम् सेवाकहरले चिनियाँ भाषा, कला, गीत र संगीत सिकाइरहेका छन् । तथ्यांकअनुसार एक सय भन्दा बढी विद्यालयले चिनियाँ भाषा पढाइरहेका छन् । ती विद्यालयमा अध्यापन गराउनका लागि चीनबाट नै पारिश्रमिक बुझ्ने गरी स्वयंसेवक शिक्षक खटिएका छन् । नेपालमा यसरी पढाइरहेका चिनियाँ भाषा शिक्षकहरले स्कुलले खाने, बस्ने व्यवस्था मिलाइदिएमा निशुल्क पढाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images