images
images
  • टेलिकमले बाँड्यो प्रति शेयर ४० रुपैयाँ नगद लाभांश

    काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा आज (२०७९ पुस २८ गते) सम्पन्न भएको छ ।

    राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

    यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९–८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड अकाउन्टेन्ट महेशकुमार गुरागाईं र चार्टर्ड अकाउन्टेन्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

    ९१ प्रतिशत बढी शेयरधनीको उपस्थिति रहेको साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

    AGM1 1

    कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल प्रतिवेदन प्रस्तुत गर्दैे कोभिड–१९ को महामारी तथा प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    दूरसञ्चार क्षेत्रमा विद्यमान तीब्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरेको उनले बताए ।

    अर्यालले भने, “आर्थिक वर्ष २०७८/७९मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बिच कम्पनीले कुल रु. ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी रु. ८ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा रु. १ अर्ब ३५ करोडले बढी हो । यसै आ.व.मा कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् रु. २६ अर्ब ४१ करोड राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ । कम्पनीको नाफामा शेयरधनीहरुको योगदान र लगानीको उच्च कदर गर्र्दै कम्पनी सञ्चालक समितिले प्रति शेयर रु. ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निर्णय गरेको छ ।”

    प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि अधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीब्रता दिएकोले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उनले उल्लेख गरे ।

    पन्ध्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आज (२०७९ पुस २८ गते) देखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।

    AGM3

     

     

     

    प्रतिक्रिया दिनुहोस्

    images