
काठमाडौं- वर्ल्ड बैंकले विश्व अर्थतन्त्र सुस्ताउँदा त्यसको प्रभाव विकासोन्मुख राष्ट्रहरुमा पर्ने जनाएको छ । विकासोन्मुख राष्ट्रहरु आयात निर्भर रहेको र मुद्रास्फीति नियन्त्रण गर्न ठूला अर्थतन्त्र भएका केन्द्रीय बैंकहरुले आक्रामक शैलीमा बढाएको ब्याजदर, कमजोर स्वदेशी मुद्रा लगायतका कारणहरुले समस्यामा पर्ने वर्ल्ड बैंकको दाबी छ ।
उच्च मुद्रास्फीति, बैंकहरुले आक्रामक शैलीमा बढाउँदै गएको ब्याजदर, रुस–युक्रेनबीचको जारी युद्धले सिर्जना गरेको आपूर्ति श्रृङ्खला अवरोध र लगानीमा आएको कमीका कारण सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको वर्ल्ड बैंकद्धारा प्रकाशित ग्लोबल इकोनोमिक प्रोस्पेक्टमा उल्लेख छ ।
कोभिड महामारीले सन् २०२० मा विश्वव्यापी अर्थतन्त्र धरासायी बनाउँदा आर्थिक वृद्धि दर खुम्चिएर आर्थिक मन्दी निम्तिएको थियो । यस्तै अहिले भू–राजनीतिक तनाव, अनपेक्षित रुपमा आकाशिएको मूल्यवृद्धि र त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले अपनाएको आक्रामक शैलीमा कारण एकै दशकमा दुई वटा आर्थिक मन्दी निम्तिएका छन् ।
सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धि दर खुम्चिएर १.७ प्रतिशत रहने अनुमान वर्ल्ड बैंकले गरेको छ । यस्तै उन्नत अर्थतन्त्र भएका राष्ट्रहरुको वृद्धि दर सन् २०२३ मा ०.५ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।
पूर्वी एशिया र प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि ४.३ प्रतिशत, युरोप र सेन्ट्रल एशियाको ०.१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारिबियनको १.३ प्रतिशत, मिडल इस्ट तथा उत्तरी अफ्रिकाको ३।५ प्रतिशत, दक्षिण एशियाको ५।५ प्रतिशत र सब–साहारन अफ्रिकाको वृद्धि दर ३.६ प्रतिशत रहने प्रक्षेपण वर्ल्ड बैंकले गरेको छ । सन् २०२३ मा सबैभन्दा सुस्त वृद्धि दर युरोप क्षेत्रको रहेको छ भने दक्षिण एशियाको वृद्धि दर सबैभन्दा धेरै रहेको छ ।
खुम्चिदै गरेको विश्व आर्थिक वृद्धि दरलाई औल्याउँदै वल्र्ड बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पास भन्छन्, ‘विश्व अर्थतन्त्र अनिश्तिता तर्फ लम्किएसँगै विकासका कामहरु सुस्ताएका छन् । उन्नत अर्थतन्त्र भएका केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका कारण उदीयमान तथा विकासोन्मुख राष्ट्रहरुमा लगानी बढ्न सकेको छैन । विकसीत राष्ट्रहरुले ब्याजदर बढाउँदा विकासोन्मुख राष्ट्रहरुले उच्च ब्याज चुक्ता गरिरहेका छन् । यसको असर शिक्षा, स्वास्थ्य, गरिबी नियन्त्रण, पूर्वाधार विकास तथा जलवायु परिवर्तन नियन्त्रणमा परेको छ ।’
रुस–युक्रेन युद्धका कारण अविकसीत तथा विकासोन्मुख राष्ट्रहरुमा खाद्यान्न तथा इन्धन अभावको समस्या व्याप्त रहेको छ । सुस्त आर्थिक वृद्धि, उच्च ब्याजदर, संकुचित वित्तीय अवस्था लगायतका विविध समस्याहरुबाट गुज्रिरहेका विकासोन्मुख राष्ट्रहरुले अनउत्पादक क्षेत्रमा दिँदै आएका अनुदान बन्द गरी लक्षित वर्गलाई अनुदान दिन र उदयमान राष्ट्रहरुले निर्यात प्रक्रियालाई नरोक्न वर्ल्ड बैंकले सुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्