काठमाडौं- प्रभु बैंक र सेन्चुरी बैंकको आज (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले (एक्विजिसन) प्राप्तिका लागि प्रस्ताव पारित गरेका थिए ।
नयाँ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अशोक शेरचनले नै पाएका छन् ।

प्रभु बैंकले सेन्चुरी बैंककोे १००ः१०० सेयर स्वाप रेसियो प्राप्त गरेको छ । यसर्थ, सेन्चुरीको १०० सय कित्ता सेयर हुनेले अब प्रभुको नाममा १०० कित्ता नै सेयर पाउनेछन् ।
हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ। प्राप्तिपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँ नाघेको छ । यस्तै, निक्षेप २ खर्ब ४८ अर्ब र कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । करिब ३० लाख ग्राहक संख्या रहेको नयाँ बैंकले ३ सय ६५ वटा शाखा, ३ सय ९ एटीएम र ७२ एक्स्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रवाह गर्नेछ । आगामी दुई वर्षमा बैंक सबै पक्षबाट अझ सबल र सुदृढ हुने प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए ।
सेञ्चुरी बैंकलाई प्राप्तिपछि नेपालको बैकिङ इतिहासमा फेरि अर्को इँटा थपिएको शेरचनले बताए । ‘निकै छोटो समयमा यो प्रक्रिया सकिएको छ । आगामी दिनमा बैंकलाई नयाँ उचाइमा पु¥याउन, ग्राहकलाई अब्बल सेवा दिन, अर्थतन्त्रमा योगदान पु¥याउन र सेयर धनीलाई उचित प्रतिफल दिन हामी प्रयासरत रहन्छौं,’ उनले भने, ‘आजैदेखि हाम्रा ग्राहकले सेवामा फरकपन महसुस गर्न सक्नु हुनेछ ।’


विश्व खबर 




















