images
images
  • रामेछापमा कांग्रेसका तामाङ निर्वाचित

    रामेछाप – रामेछापमा प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् ।

    आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् ।

    निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति भइसकेका नेता हुन् । २०७० को संविधानसभा चुनावको समानुपातिकतर्फको सूचीमा पनि उनको नाम थियो ।

    २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थीए । निर्माण व्यवसायमा संलग्न उनी २०३६ सालदेखि राजनीतिमा पनि आबद्ध रहेका व्यक्ति हुन् ।

    प्रतिनिधिसभा सदस्यमा पराजित एमालेका ढुंगेल २०७४ को निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । वाम गठबन्धनबाट प्रदेशसभा सदस्य बनेका उनी साढे ३ वर्ष वाग्मती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।

    २०५६ को प्रतिनिधिसभा २०६४ र २०७० को संविधानसभामा एमालेको तर्फबाट रामेछापमा उम्मेदवार भई पराजित बनेका उनी फेरि सोही क्षेत्रबाट संघीय संसद्मा पराजित भएका छन् ।

    २०३६ सालबाट विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिमा सक्रिय भएका ढुंगेल २०५१ मा सुकुम्वासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष, २०५४ मा जिल्ला विकास समिति सभापति पनि भइसकेका व्यक्ति हुन् । उनी २०७३ मा दुग्धविकास संस्थानको कार्यकारी प्रमुख पनि भएका थिए ।

    रामेछापबाट वाग्मती प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरू निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images