images
images
  • दुई नेपाली कम्पनीको औषधि गुणस्तरहिन, बजारबाट फिर्ता गर्न निर्देशन

    काठमाडौं – औषधि व्यवस्था विभागले दुई वटा नेपाली कम्पनीले उत्पादन गरेको औषधि विक्री–वितरणमा रोक लगाएको छ । विभागले छुट्टाछुट्ट्रै नेपाली कम्पनीले उत्पादन गरेका दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई बजारबाट फिर्ता गर्न निर्देशन पनि दिएको छ ।

    रूपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डी’ को ब्याच नम्बर ‘बिडी २१०४’ र काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नम्बर ‘एएस २१२१’ ट्याबलेटको गुणस्तर परीक्षण सन्तोषजनक नभएको भन्दै विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

    विभागले उक्त ब्याचको औषधिको बिक्री वितरणमा समेत रोक लगाएको छ । आइतबार सूचना जारी गर्दै बजार अनुगमनको क्रममा ती औषधिको नमुना परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ । ती औषधिहरू कोभिडको समयमा व्यापक प्रयोगमा आएका थिए ।

    विभागले ती औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्नरनगराउन भनेको छ । विभागले सम्बन्धित उद्योगका आयातकर्ता र तिनका प्रतिनिधिलाई पनि उक्त औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।

    यसअघि पनि विभागले गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइँदै आएका छन् । विभागको प्रत्येकजसो अनुगमनमा स्वदेशी तथा विदेशी कम्पनीका औषधि गुणस्तरहीन पाइनुले मानव स्वास्थ्यमा खेलबाड भइरहेको देखाउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images