काठमाडौं– सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् । मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन् । यस्तै, प्रदेश १ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
डेंगु नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले नै आरोप लगाएका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाश मान सिंहले डेंगु नियन्त्रण गर्न तत्काल आवश्यक कदम चाल्न विभिन्न माध्यमबाट सरकारलाई आग्रह गरेका छन् ।
अबको जोखिम !
सुरुमा मध्य तथा पूर्वी तराईका जिल्लामा देखिएको डेंगु अहिले पहाड चढेको छ । कास्की र मकवानपुरमा देखिएको एडिज नामको लामखुट्टे झण्डै तीन वर्षअघि काठमाण्डौ आइपुगेको हो ।तर मकवानपुर र कास्कीमा जस्तो महामारी काठमाण्डौमा फैलिसकेको छैन । तर यस वर्ष बिरामीको संख्या हेर्दा काठमाण्डौैँ उपत्यकामा महामारी फैलिन सक्ने जोखिम भने बढेको छ ।
पहाड चढेसँगै काठमाण्डौ उपत्यका लगायत देशैभर डेंगुुको महामारी फैलिन सक्ने जोखिम बढेको टेकु अस्पतालका प्रमुख रुपनारायण खतिवडा बताए ।‘डेंगु फैलिदो क्रममा रहेकाले जोखिम बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘यही अवस्थामा फैलिंदा नियन्त्रण गर्न सकिएन भने देशैभर महामारीको जोखिम हुन सक्छ ।’
न्युनतम १६ डिग्री सेल्सियसमा पनि डेंगु सार्ने एडिज लामखुट्टे हुर्कन र बढ्न सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार मंसिर, पुस र माघ बाहेक अरु महिना एडिज लामखुट्टेका लागि अनुकूलको समय हो ।प्रायः असार, साउन र भदौमा धेरै नै संक्रमण देखिने डेंगु अब बाह्रै महिना सक्रिय हुने र रोग सार्ने जोखिम रहेको प्याकुरेलको भनाइ छ ।
डेंगु नियन्त्रणको सरकारी प्रयास असफल !
गएको वर्ष ८ सय ११ जनामा मात्रै डेंगु देखिएको थियो । तर यस वर्षको असार तथा साउन महिनामै पूर्वी नेपालको तराईमा डेंगुले महामारीको रुप लियो ।सरकारले महामारी नियन्त्रणका लागि चिकित्सकसहितको केन्द्रीय टोली नै परिचालन गरे पनि खासै प्रभावकारी भएन । फलस्वरुप पूर्वी नेपालबाट चितवन हुँदै मकवानपुर र कास्कीमा डेंगुको महामारी फैलियो ।नभन्दै साउन मसान्त र भदौ पहिलो हप्तासम्म तीन जनाको ज्यान जाँदा डेंगुबाट प्रभावित हुने बिरामीको संख्या झण्डै चार हजार पुगेको छ । यसबीचमा संघ, प्रदेश र पालिकाहरुले गरेको डेंगु नियन्त्रणको प्रयास पनि सफल भएन ।
हेटौंडामा डेंगु सार्ने लामखुट्टे नियन्त्रणको अभियान चलाएका अभियान्ता नै बिरामी परे । हेटौँडा उपमहानगरपालिका ४ कमलडाँडामा लामखुट्टे नियन्त्रणका लागि अभियान चलाउँदा केही स्थानीय र टोल सुधार समितिकै सदस्य पनि बिरामी परेका थिए ।स्थानीय टोल सुधार समिति कमलडाँडाकी मौसमी श्रेष्ठ डेंगु नियन्त्रणका लागि घरदैलो अभियान चलाए पनि प्रभावकारी हुन नसकेको बताए ।
‘स्थानीय चिकित्सक, नेपाल प्रहरी, नेपाली सेना, नगर प्रहरी, जनप्रतिनिधि, टोल सुधार समिति सदस्य सबै मिलेर लामखुट्टे नियन्त्रणको अभियान चलाएका हौँ’ टेकु अस्पतालमा भेटिएकी उहाँले भन्नुभयो, ‘बहिनी बिरामी भएपछि म यता आए । उता अभियान चले पनि डेंगु नियन्त्रण भएको छैन । झन् फैलिएको छ ।’
संघ, प्रदेश र पालिकाबीच समन्वय भएन
डेंगुको प्रकोप झन फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ पहिलो हप्ता सबै सरोकारवालाहरुको बैठक बोलायो । बैठकमा सातै प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख समेत सहभागी थिए । बैठकले डेंगु नियन्त्रणका लागि सातै प्रदेश र सबै पालिकालाई साथमा लिएर अभियान चलाउने निर्णय गरेको थियो । तर त्यसको असर देखिएन । डेंगु नियन्त्रण हुनुको साटो झन् झन् बिरामी बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरु चिन्तित छन् ।
‘विगतमा भएका स्वास्थ्य निकायका संरचना अहिले छैनन् । पालिका सरकारसँग समन्वय गर्न सजिलो भए पनि स्रोत साधन प्रयोग गर्न सहज छैन’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले भने, ‘संघ, प्रदेश र पालिकाबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन ।’ उनका अनुसार स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि सम्बद्ध सबै मन्त्रालयका निकाय, संघ, प्रदेश र पालिकाका प्रतिनिधिसँग यसै हप्ता संयुक्त छलफलको तयारी गरेको छ । बैठकमा छलफल गरेपछि आवश्यक परे मन्त्रिपरिषदमा प्रस्ताव लिएर भए पनि डेंगु नियन्त्रणको अभियान व्यापक बनाउने उनले बताए ।
‘डेंगु नियन्त्रणका लागि सरकारले अभियान जारी राखेको छ’ उनले भने, ‘सबै सरोकारवालासँग बैठक गरेपछि त्यसबाट आउने सुझाव समेट्दै आवश्यक परे मन्त्रीपरिषदमै प्रस्ताव लिएर अभियान व्यापक बनाएर पनि डेंगु नियन्त्रण गर्ने योजना छ ।’
नेपालमा डेंगुको विगत
एडिज प्रजातीको लामखुट्टेले टोकेपछि लाग्ने डेंगु नेपालमा पहिलो पटक सन् २००४ मा भेटिएको थियो । त्यतिबेला एक जना विदेशीमा भेटिएको यो रोग त्यसको दुई वर्षपछि तराईका नौ जिल्लामा फैलियो । नेपालमा डेंगु भित्रिएको ६ वर्षपछि अर्थात सन् २०१० मा महामारीको रुप लिएको हो । त्यतिबेला चितवन, रुपन्देही, नवलपरासीलगायत देशभरीमा ९ सय १७ जना संक्रमित हुँदा पाँच जनाको डेंगुबाट ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।
चितवनमा बढी देखिएको डेंगु सन् २०१६ मा पूर्वी नेपालको झापा, सुनसरी, धनकुटा लगायतका जिल्लामा पनि फैलियो । त्यतिबेला बिरामीको संख्या बढेर १५ सय २७ पुग्यो । सन् २०१७ मा डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार १ सय ११ पुग्दा चितवन, झापा, रुपन्देही, सर्लाही र महोत्तरीमा महामारीको रुप नै लियो । गएको वर्ष केही घटेर ८ सय ११ जना मात्रै डेंगुबाट संक्रमित हुँदा रुपन्देही र चितवनमा भने महामारी कायमै छ ।यस वर्ष चितवन, रुपन्देही, झापा, सुनसरी लगायतका जिल्लामा मात्रै नभई मकवानपुरमा समेत डेंगुको महामारी फैलियो । यसपटक तीन जनाको ज्यान जाँदा झण्डै चार हजार मानिस बिरामी छन् ।


विश्व खबर 



















