काठमाडौ- डेंगु संक्रमण निरन्तर उकालो लाग्दै गएको देखिन्छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को आइतबारसम्मको तथ्यांकअनुसार देशभर साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ ।
हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु फैलिएको छ । त्यसमध्ये १० वटा जिल्ला उच्च जोखिममा छन् । उच्च जोखिममा रहने जिल्लामा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन रहेका छन् ।
आइतबारसम्मको तथ्यांकअनुसार ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।
त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी वाग्मतीमा ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार मृत्यु हनेमा ४ जना डेंगुकै जटिलताले मृत्यु भएको हो भने ३ जनामा भने डेंगुसँगै अरु रोगको पनि जटिलता थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै डेंगुबाट बच्न कर्मचारीलाई पूरा बाहुला भएको पोसाक लगाउन अनुरोध गरेको छ । मन्त्रालयले डेंगु प्रकोप न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको जनाएको छ ।
मन्त्रालयले यही शनिबारदेखि बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर डेंगु सार्ने लामखुट्टेको लार्भा रहेरनरहेको निरीक्षण गर्न अभियान चलाउने निर्णय गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले डेंगु रोकथामकालागि तीनवटै तहसँगै समन्वय गरेर अघि बढिरहेको बताए । उनले भने, ‘तीनै तहकसरकारसँग समन्वय गरेर अस्पतालको तयारी, समुदाय स्तरमा खोज र नष्टको अभियान तीव्र गतिमा अगाडि बढाइएको छ । ’
ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले डेंगु नियन्त्रण तथा रोकथाममा निरन्तर लागिपरेको दाबी गरे । उनी भन्छन्, ‘सरकारको ढिलासुस्ती भएको छैन । हामी निरन्तर लागेका नै छौँ । यो सबै क्षेत्रको समन्वयको काम हो । सर्वसाधारणदेखि लिएर सबैको सहकार्य आवश्यक छ । मुख्य पाटो भनेको जनचेतना, लार्भा खोज र नष्ट अभियानमा स्थानीय निकाय खटिएका छन् । सबै अस्पताललाई पनि अवस्था हेरेर व्यवस्थापन गर्नु भनेर निर्देशन गइसकेको छ । सर्वसाधारण पनि सजग हुनुपर्छ । डेंगु जाँच गर्ने किटहरु अभाव छैन ।’ उनले मंगलबारदेखि नै समुदायमा भेक्टर सर्भिलेन्स र डेंगुको सेरोटाइपको अध्ययनका लागि नमुना संकलन गरिने बताए ।
डेंगु संक्रमणका लक्षणहरु
विज्ञहरूका अनुसार डेंगुको अझै २ महिना जोखिम छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगुका हुन् ।
गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।
यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने चिकिसकहरू सुझाउँछन् ।विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ ।
साँझपख झ्यालढोका नखोल्ने, काम गर्दा पूरा बाहुला भएका लुगा लगाउने, कुनाकाप्चा राम्ररी सफा गर्ने, नचाहिने सामान कोठामा थुपारेर नराख्ने गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिने जनस्वास्थ्यविद्हरू बताउँछन् ।


विश्व खबर 


















