बैतडी । जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका (घाट) पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका घाट गत चैतदेखि नै बन्द गरिएका थिए । शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन् । घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था छ । यसका साथै दैनिक उपभोग्य सामानसमेत महँगो खरिद गर्नुपरेको स्थानीयवासी वीरेन्द्र महताले बताए । घाट खुला रहँदा भारतबाट सामान आउने गरेको भए पनि हाल भारतबाट आउन छोडेको हो । महताका अनुसार “भारतबाट ल्याइएको सामान सस्तो हुने गर्दथ्यो, अहिले महँगोमा किन्नुपरेको छ । ”
तल्लोस्वराडवासी नाका वारपार गर्नका लागि महाकाली नदीमा डुङ्गा प्रयोग गर्छन् । यसका लागि नदीमा निश्चित स्थान तोकिएका थिए । ती स्थानमा हाल डुङ्गा चल्न छोडेका हुन् । उपभोग्य सामानका लागि भारतकै भरमा रहेका स्थानीयवासी हाल समस्यामा परेका हुन् । हालै तल्लोस्वराडमा सडकसञ्जाल विस्तार भएकाले नेपालबाट लगिएको महँगोमा सामान पुग्ने गरेको छ ।
स्थानीय बासिन्दाको समस्यालाई ध्यानमा राख्दै स्थानीय सरकारले घाट खोलिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए । घाट खोल्ने विषय अन्तर्राष्ट्रिय मामिला भएकाले स्थानीय सरकारले खोल्न सक्दैन, हामीले सङ्घीय सरकारलाई आग्रह गरेका छौँ । यता घाट खोल्नका लागि सरकारले नै निर्णय गर्नुपर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । उहाँले भन्नुभयो, “हामीले घाट खोल्नका लागि सरकारलाई लिखितरूपमा जानकारी गराइसकेका छौँ, यस विषयमा सरकारले कुनै पनि निर्णय गरेको छैन ।”
उहाँले ती घाट वैधानिक नभएको समेत बताए । “स्थानीय तहले सजिलोका लागि घाट सञ्चालनमा लिएका हुन् तर यी घाट वैधानिक भने होइनन्”, उहाँले भन्नुभयो । वैधानिक नभए पनि पुनः सञ्चालनका लागि सरकारले नै निर्णय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामात्रै हाल सञ्चालनमा रहेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण सरकारले गत चैतदेखि अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । सरकारले गत माघ महिनादेखि अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्