images
images
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: बढ्यो विशिष्ट कक्षको दुरुपयोग

    काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ ।

    गत जेठको अन्तिमदेखि भदौ १७ सम्म दुई महिनामा यस्तै दुईवटा घटना सार्वजनिक भएका छन् । यी सार्वजनिक भएका ठूला घटनामात्र हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकारी आफूहरूले सम्हाल्नै गाह्रो हुनेगरी विशिष्ट कक्ष प्रयोगका लागि अनुमति माग भई आउने गरेको बताउँछन् ।

    यस्ता घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ ।शुक्रबारमात्र उक्त विशिष्ट कक्ष प्रयोग गरी एक अभियुक्त फरार भए । फरार गराउन संवैधानिक आयोगका अध्यक्ष नै संलग्न भएको सार्वजनिक भएको छ ।

    संयुक्त अरब इमिरेट्स (यूएई) अरब संसद्का उपाध्यक्ष अरब मोहम्मद अहमद मोहम्मद अहमद अल यामाहीसहित तीनजना संसद्को टोली शुक्रबार नेपाल भ्रमणमा आएको थियो ।मुस्लिम आयोगको निमन्त्रणमा आएको टोलीमा सुनसरीका रिजवान आलमले विशिष्ट कक्ष प्रयोग गरेको पुष्टि भएको छ ।

    त्यसक्रममा आलमको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक–जाँच गर्दा फरार अभियुक्त खुलेपछि भीआईपी कक्षबाट बाहिरिन नागरिक उड्डयन कार्यालयले रोक लगाएको थियो । तर त्यसअघि नै अध्यक्ष अन्सारीको गाडीमा बसेर आलम फरार भइसकेको प्रहरीले जनाएको छ ।दाउद हुसेनको मुद्दामा फरार रहेका आलमलाई पक्राउ गर्न इन्टरपोलमार्फत नोटिससमेत जारी भएको थियो ।

    दाउद हुसेनका छोरालाई डाक्टर पढाउने भन्दै एक करोड ६८ लाख ठगेको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images