images
images
  • ‘मानव बेचबिखनमा कमी ल्याउन सचेतना र सशक्तीकरण आवश्यक’

    काठमाडौं- काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले मानव बेचविखन र ओसारपसारमा कमी ल्याउन सचेतना र सशक्तीकरणका कार्यक्रम बढाउनुपर्ने बताएकी छन् । मानव बेचविखन ओसारपसार तथा नियन्त्रणका लागि गठित नगर स्तरीय समितिको बैठकमा बोल्दै उपप्रमुख डंगोलले व्यक्तिलाई जोखिमका विषयमा जानकारी गराउन सजग गर्नुपर्ने, जोखिम क्षेत्रहरुमा नियमित निगरानी गर्नुपर्ने बताएकी हुन् ।

    उनले भनिन्, ‘मानवीय आवश्यकता पूरा नभएपछि गाउँबाट सहरमा आउने, सहरमा सोचेजस्तो रोजगारी र जीवन चल्ने आम्दानी नभएपछि विकल्प खोज्न थाल्छन् । उनीहरुमा भएको यो अभावको फाइदा उठाएर अरुले ओसारपसार र बेचविखन गर्छन् ।’

    समितिका सदस्य सचिव एवं सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार, सम्भावना देखिने सहरको मनोरञ्जन क्षेत्र, श्रम क्षेत्र बढी जोखिममा रहेका छन् । बैठकमा प्रहरी उपरीक्षक दिनेश मैनालीले पीडितलाई न्याय र पीडकलाई दण्ड दिन सक्नु पर्ने बताए । बैठकमा शान्ति फाउन्डेसन, विश्वाश नेपाललगायत संघ संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

    त्यस क्रममा सहरी क्षेत्रमा मानव बेचविखन र ओसारपसारको अवस्था, यसको नियन्त्रणका लागि महानगरले अबलम्बन गर्नुपर्ने अनुगमन पद्धति, रेफरल प्रक्रिया, तथ्याङ्क व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । समस्या निराकरणका लागि नगरस्तरीय समितिसँगै वडास्तरीय समिति पनि सक्रिय हुनु पर्नेमा सहभागीहरुको जोड थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images