काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ ।
महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो ।
साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।
काठमाडौँ महानगरपालिकाले आज बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड अनुगमन गर्ने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
उनले भने, ‘हामीले नक्सा विपरित प्रयोजन हुँदै आएको अन्डरग्राउण्ड, नक्सा पास भएअनुसार नै प्रयोग गर्न ३५ दिन अगाडि सूचना जारी गरेका थियौँ । सो सूचनामा अटेर गरे कानुन बमोजिम अनुसार कारबाही गर्ने बताएका थियौँ । सोही अनुसार नै हामी आज अनुगमन गछौँ ।’
मेयर बालेन्द्र साहको सचिवालयका अनुसार बानेश्वर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर अन्य प्रयोजनामा लगाइएका संरचना भत्काउन खोज्दा हुनसक्ने तनावको स्थितिलाई नियन्त्रण गर्न महानगरले प्रहरीसँग छलफल समेत गरिसकेको छ ।


विश्व खबर 




















