images
images
  • बयलपाटा अस्पताल आर्थिक संकटमा, सेवा प्रवाहमा समस्या

    काठमाडौँ– न्याय हेल्थ नेपालद्वारा सञ्चालित अछामको बयलपाटा अस्पताललाई आर्थिक संकट परेको छ । विभिन्न दातृ निकायबाट आउने बजेट कोरोना महामारी पछि कटौती हुन थालेपछि सुदूर तथा मध्य पहाडका सर्वसाधारण नागरिकको देवताका रुपमा चिनिएको बयलपाटा अस्पतालमा आर्थिक संकट थपिएको हो ।

    साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बयलपाटा अस्पताल आर्थिक संकटमा परेको बताएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिकको सहज सेवा र निशुल्क उपचार गर्ने अछामको बयलपाटा अस्पतालमा पछिल्लो एक वर्ष यता आर्थिक अभावले सेवा प्रवाहमा समस्या थपिएको बताएका हुन् ।

    अस्पतालको विषयमा केही दिन अघि मात्रै प्रदेशका विभिन्न विभागीय मन्त्री तथा अछाम, बाजुरा, डोटीका केही पालिकाका मेयर,अध्यक्ष, राजनितीक दल लगायतसँग छलफल गरेर आफ्नो संयोजकत्वमा सरोकार समिति गठन गरेको उनको भनाई छ ।

    आफूलाई दिएको जिम्मेवारी पुरा गर्न यतिखेर संघीय मन्त्रालयमा धाइरहेको छु, उनले भने, ‘भर्खरै मात्रै नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा संग भेटेर बयलपाटा अस्पतालको विषयमा कुराकानी गरेको छु’। प्रधानमन्त्रीले पनि उक्त अस्पतालको विषयमा चासो राखेर आश्वासन दिएको मेयर कुवँरले बताए ।

    न्याय हेल्थ नेपालबाट आउने बजेटले मात्रै नपुग्ने भएकाले सुदूरपश्चिम र कर्णाली प्रदेशका सर्वसाधारण नागरिकको स्वास्थ्य सेवाका लागी सबै निकायसँग पहल गरेको समेत उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images