काठमाडौं- भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ ।
मुख्यत: काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमश: बिहिवार र शुक्रबार दुई दिन लगातर हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात शुक्रवार नै दुवै परेको भन्दै प्रेस बिज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने एउटा तिथि क्षय भएका कारण पर्व खप्टिएको बताएको छ। २६ गतेको सूर्योदय चतुर्दशीमा भए पनि बिहानको ९ बजेर ४४ मिनेट पश्चात पूर्णीमा लाग्नेछ। र भोलीपल्ट २७ गते बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमा तिथि रहने छ । सूर्योदयदेखि सुरु भएको तिथिलाई मान्यता दिने भएकाले २७ गते जनै पूर्णिमा मनाउने निर्णय गरेको हो । त्यस्तै ७ बजेर २५ मिनेटपछि प्रतिपदा सुरु हुने तर भोलिपल्ट २८ गतेको सूर्योदय द्वितिया तिथिमा हुने भएकाले २७ गते नै गाईजात्रा पर्व परेको पञ्चाङ्ग निर्णायक समितिले प्रष्ट पारेको छ।
भक्तपुरमा तलेजु भवानीमा साँझ घिन्ताङघिसी नाच निकालेर भोलि गाईजात्रा हो भनेर सूचना दिने चलन छ।
पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाई छ ।
यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेको हो ।
हिन्दू धर्म अनुसार जनै पूर्णिमा जनै फेर्ने, डोह्रो बाध्ने, राखी बाध्ने लगायतका संस्कृति भएको पर्व हो। यस दिन नेवार समुदायमा क्वाटी खाने, खेतको बालीको रक्षा गर्ने भ्यागुतालाई पनि क्वाटी खुवाउने प्रचलन छ।



विश्व खबर 


















