काठमाडौं- नागार्जुन नगरपालिका वडा नम्बर ७ स्थित मनमती खोलाले बगाउँदा आइतबार एक स्कुले बालकको मृत्यु भएको छ ।
स्थानीय माइल स्टोन युथ इङ्लिस स्कुलमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीय मनिष शाही फलामे पुल तर्ने क्रममा खोलामा खसेका थिए । स्कुलबाट घर फर्कने क्रममा शाही पुल तर्दै गर्दा खोलामा खसेको प्रत्यक्षदर्शी कान्छी मानन्धरले बताइन् । ‘पानी परिरहेको थियो, खोलाले फलामे पुल छुनै लागेको थियो, छाता ओडेर पुल तर्न खोज्यो,’ मानन्धरले भनिन्, ‘मैले चिच्याएर अहिले नतर भन्दाभन्दै एक्कासी खोलामा खस्यो ।’
मानन्धर परिवार र उनका छिमेकीले मनिष खोलामा खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामेछाप घर भएकी सरिता शाहीको छोरा मनिषले स्कुल बसको सेवा प्रयोग गरेका थिएनन् । बाबुआमा ज्यालादारी काम गर्दै आएका छन् । सरिताको तीन छोराछोरीमध्ये मनिष एकमात्र छोरा थिए । नागार्जन नगरपालिका वडा नम्बर ७ स्थित सेराफाँटमा जग्गा भाडामा लिएर जस्ताको टहरो बनाएर सरिताको परिवार बस्दै आएको थियो । प्रहरीले स्थानीयको सहयोगमा करिब डेढ किलोमिटर पर मनिषको शव फेला पारेको जानकारी महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी राजबाबु महर्जनले दिए ।
एनका अनुसार मनिषको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतला महाराजगञ्जमा पठाइएको छ । शाहीका आमाबाबु अर्धचेत अवस्थामा छन् । स्कुलका प्रिन्सिपल शिवराम गिरीले मृतक शाही पढाइमा मध्यम भएको बताए । ‘दुःखद घटना भयो । घरसम्म बस नजाने भएपछि स्कुल बस प्रयोग गरेका थिएनन् । हामी घटना भएदेखि शव फेला पार्दासम्म प्रहरीसँगै थियौं,’ गिरीले भने, ‘मृतकका परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने निर्णय स्कुलको व्यवस्थापन समितिको बैठकबाट हुन्छ ।’


विश्व खबर 




















