images
images
  • अनेरास्ववियु क्रान्तिकारीद्धारा तत्काल स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग

    काठमाडौं- अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।

    त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेको हो ।

    ‘प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश क्याम्पसमा करिब १४ वर्षदेखि हुन सकिरहेको छैन । पछिल्लो समय २०७३ मा स्ववियु निर्वाचन भएका क्याम्पसमा पनि झन्डै ६ वर्षदेखि निर्वाचन हुन सकिरहेको छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘स्ववियु बन्धक बनाउने विश्वविद्यालयको अलोकतान्त्रिक रबैया सच्याएर तत्काल स्ववियु निर्वाचनको मिति घोषण गरियोस् ।’

    त्यस्तै, ज्ञापनपत्रमा तत्काल खुला विज्ञापन गरी खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति परिपूर्ति गर्न, प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापर्बाहीलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गर्न माग गरिएको छ ।

    यसैगरी, शैक्षिक क्यालेन्डर बनाई सोहीअनुरूप विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा सञ्चालन र परिणाम प्रकाशन गर्ने व्यवस्था गर्न, परीक्षाको परीक्षाफल प्रकाशनमा भएको ढिलासुस्तीको अन्त्य गर्दै सबै तहका परीक्षाको परीक्षाफल ढिलोमा तीन महिनाभित्रमा प्रकाशित गर्न, विविध कारणवश निर्धारित शैक्षिक वर्षभित्र तह पूरा गर्न नपाएका विद्यार्थीहरूलाई समय समयमा मौका परीक्षाको व्यवस्था गर्नसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    यस्तै, त्रिविका पदाधिकारी र विभिन्न नियुक्तिमा हुने भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा दक्ष जनशक्ति नियुक्ति गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षा कार्यक्रम हाल बिनाविकल्प बन्द गरिएकाले हजारौं विद्यार्थी काम गर्दै स्वअध्ययन गर्ने अधिकारबाट वञ्चित भएकाले निश्चित आधार तयार गरी तत्काल प्राइभेट परीक्षा खुलाउनसमेत माग गरिएको छ ।

    यसैगरी, त्रिविले निर्धारण गरेका परीक्षा केन्द्रहरू विद्यार्थीलाई पायक पर्ने स्थानमा निर्धारण गर्न र सेमेस्टर प्रणालीको शुल्क तत्काल समायोजन गर्न पनि माग गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images