कोलम्बो- श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ । आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदै छ ।
आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे, जनता विमुक्ति पेरामुना पार्टीका अध्यक्ष अनुरा कुमारा दिशानायका र श्रीलंका पोदुजना पेरामुना पार्टीका सांसद दुल्लास अल्लाहपेरुमाले राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।
श्रीलंकाली संसदमा आज राष्ट्रपति पदका लागि मनोनयनको आह्वान गरिएको थियो । तीन प्रतिस्पर्धीलाई उनीहरूका दलले प्रस्ताव तथा समर्थन गरेका हुन् ।
श्रीलंका पछिल्लो समयमा आर्थिक संकटमा फसेको छ । देश आर्थिक संकटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।
राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् । त्यसपछि कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।
राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभुतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।
अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन् । –एजेन्सी


विश्व खबर 



















