काठमाडौं– सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाको अनुगमन गर्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई आइतबार प्रहरीले गेटमै रोकेको छ ।
घटनाको अनुगमनका लागि आइतबार टेकुस्थित प्रहरी परिसर पुगेको आयोगका सदस्यहरूको उच्चस्तरीय टोलीलाई प्रहरीले गेटमै रोकेको हो ।
प्रहरीले आयोगको टोलीलाई जबरासँग भेटेर घटनाबारे जानकारी लिन रोक लगाएको घटनाप्रति आयोगले गम्भीर आपत्ति जनाउँदै विरोध जनाएको छ । प्रहरीको उच्च नेतृत्वसँग अनुगमनमा अवरोध गरिएको विषयमा जानकारी माग्दा किन आयोगको टोलीलाई अनुगमन गर्न नदिइएको हो भन्ने कारणसमेत नदिइएको आयोगको भनाइ छ ।
आयोगले नेपालको संविधान तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ ले आफूलाई सार्वजनिक तथा निजी संस्था र अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने स्पष्ट अधिकार दिएको स्मरण गराउँदै प्रहरीको व्यवहारलाई गम्भीर रूपमा लिएको जनाएको छ ।
आयोगका अनुसार ऐनको दफा ४(क) मा आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने तथा मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था छ ।
आफूलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकार प्रयोग गर्न पुगेको आयोगको टोलीलाई नै प्रहरीबाट रोक लगाइनु गम्भीर विषय भएको आयोगले जनाएको छ । आयोगले यसप्रति खेदसमेत व्यक्त गरेको छ ।
आयोगले निष्पक्ष छानबिन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
साथै, आयोगलाई संविधान र कानुनले प्रदान गरेको अधिकारको सम्मान गर्दै मानव अधिकार अनुगमनमा कुनै पनि निकायबाट अवरोध नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जबराको पक्राउपछि आयोगको अनुगमनमै प्रहरीबाट अवरोध भएको आरोप लागेसँगै प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगबीच अधिकार प्रयोगको विषय थप पेचिलो बनेको छ ।



विश्व खबर 


















