काठमाडौं- काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य वस्तु उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको उद्योग स्थापना गर्न लागिएको हो ।
महानगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा फोहोरमैलासम्बन्धी आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपियाँ विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख छ । छपाइको क्रममा रहेको बजेट पुस्तिकाको ९ सय ३ बुँदामा यसको विवरण दिइएको छ ।
महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख निर्देशक रामबहादुर थापाले तत्काल स्थान पहिचान गरी उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी नेपाल समाचारपत्रलाई दिएको छ । उनका अनुसार कामपाले सहयोग गरेका उपत्यकाका नगरपालिकासँग उद्योग स्थापना गर्न खाली क्षेत्र उपलब्ध गराउन माग गरिएको छ ।
‘हामीलाई फोहोर उद्योग स्थापना गर्न आवश्यक पर्ने करिब ४० देखि ५० रोपनी जग्गा आवश्यक पर्छ । उक्त जग्गा खोज्न महानगरले छिमेकी नगरपालिकासँग आग्रह गरेको छ’, विभागीय प्रमुख थापाले भन्नुभयो – ‘जग्गा उपलब्ध भए दुईतीन महिनाभित्रै उद्योग स्थापना गरी उत्पादन शुरु गर्ने तयारी गरेका छौं ।’
महानगरका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव यादवले बजेटमा व्यवस्था भएअनुसार काम अघि बढाइने बताउनुभयो । ‘उपत्यकाको स्थानीय निकायका मेयरहरूसँग कुराकानी भइरहेको छ, स्थान पाउनासाथ काम शुरू गर्ने सोचमा छौँँ । कामपाले दक्षिणकाली नगरपालिका, चन्द्रागिरि, टोखा मध्यपुर नगरपालिका प्रमुखसँग कुराकानी भइरहेको जनाएको छ । जग्गा पहिचान हुनेबित्तिकै उद्योग स्थापना गर्ने तयारीमा लागेका छौं’ – यादवले भने ।
सार्वजनिक निर्माण विभागका निर्देशक थापाले समस्या जग्गा प्राप्तिको रहेको बताउए, थापाले भने- ‘रकमको समस्या छैन, जग्गा पाउनासाथ उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’ निर्देशक थापाले उद्योगको भौतिक संरचना सामान्य हुनेछ । तर यन्त्र उपकरणको लागि बढी खर्च हुने जानकारी दिए ।
महानगरले फोहोरलाई उत्पादनसँग जोड्नेगरी उद्योग स्थापना गर्न लागेको दाबी गरेको छ । बन्चरे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा खर्च बढी हुने भएपछि आफ्नै लगानीमा कामपाले उद्योग स्थापना गर्न लागेको हो । कामपाले दैनिक करिब ४ देखि ५ सय टन फोहोर व्यवस्थापन गर्न उद्योग स्थापना गर्न लागेको हो ।
महानगरले दुर्गन्धरहित फोहोर उद्योग स्थापना गर्न लागेको जनाएको छ । महानगरको यो योजना सफल भए महानगर र यससँगै जोडिएका नगरपालिकाको फोहोर व्यवस्थापन सहज हुने जनाएको छ । त्यसका लागि छिमेकी स्थानीय तहको सहयोगमा आधा दर्जनभन्दा बढी स्थान अवलोकन गरिसकेको जानकारी दिइएको छ ।
कामपाको फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन र फोहोरको परिमाण घटाउन कामपा आफैंले पहिलोपटक आधुनिक उद्योग स्थापना गर्न लागेको हो । कामपाले बन्चरे ल्यान्डफिल साइटमा फोहोरको मात्रा कम गराउन नयाँ उद्योग स्थापना गर्न लागेको हो ।


विश्व खबर 




















