images
images
  • पानी वितरण नहुँदै मेलम्चीको पाइपमा २४ करोड ३१ लाखको क्षति

    काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि बिछ्याइएको पाइपमा क्षति पुग्ने क्रम रोकिएको छैन । मेलम्चीको पानी नियमित रुपमा वितरण नहुँदै आयोजनाको पानी बाँड्न बिछ्याएको २४ करोड ३१ लाख रुपैयाँ बराबरको पाइपमा विभिन्न कारणले क्षति पुगेको छ ।

    सडक निर्माण गर्दा पर्याप्त सावधानी अपनाउन नसक्दा पाइपहरूमा नोक्सान हुन गएको पाइएको महालेखा परीक्षकको कार्यलयले जनाएको छ ।

    नोक्सान भएका पाइपको मूल्य, बिछ्याउने, पुर्ने र जडान खर्च समावेश गरी निर्देशनालयले पाइपलाइन क्षतिको गत वर्षसम्म १८ करोड ४१ लाख ७३ हजार रुपैयाँ मूल्यांकन गरेकोमा आर्थिक वर्ष २०७७र७८ मा ५ करोड ८९ लाख ३९ हजार थप भई जम्मा २४ करोड ३१ लाख १२ हजार मूल्यांकन गरेको महालेखाको ५९औं प्रतिवेदनले जनाएको छ ।

    महालेखाले आयोजना कार्यान्वयन निर्देशनालय र सडक विभागबीच भएको सम्झौताको दफा ७ मा निर्देशनालयबाट पाइप बिछ्याइसकिएको सडकहरूमा सडक निर्माणको क्रममा पाइपमा क्षति पुग्न गएमा सो क्षातिलाई पुनः निर्माण गर्न लाग्ने रकम सडक विभागले निर्देशनालयलाई उपलब्ध गराउने व्यवस्था रहेको स्मरण गराएको छ ।

    ‘सडक विभागसँग उक्त रकम माग गरेकोमा प्राप्त भएको छैन । सडक तथा अन्य पूर्वाधार निर्माणको क्रममा उक्त पाइपलाइन क्षति भएकोले पाइपलाइन पुनः स्थापना गर्दा निर्मित सडक तथा पूर्वाधारको पुनः क्षति भई यस्तो रकम अझै बढ्ने अवस्था छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अतः सरोकारवाला निकायसँग समन्वय गरी अन्य संरचनाको क्षातिसमेत यकिन गरी कुल क्षतिको मूल्यांकन गर्नुपर्ने र पाइप लाइनको पुनः निर्माण हुनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images