images
images
  • यस्तो नगरपालिका जहाँ विद्यालय जान डोकोभित्र बसेर खोला तर्नुपर्छ !

    अर्घाखाँची- खोला तर्ने सुरसारमा छिन् अर्घाखाँची सितगंगा नगरपालिका- ७ कि झरना पुलामी कुमाल। उनको पिठ्युँमा डोको छ। डोकोमा भने सामान होइन, झरनाका ६ वर्षे छोरा छन् । आकाशे रंगको सर्ट लगाएका छन् राजनले। अर्थात् उनी रहरले डोकोभित्र बसेका होइनन्। विद्यालय जाँदा खोला तर्नुपर्ने बाध्यताले हो।

    पुल नहुँदा छोरालाई डोकोमा बोकेर खोला तार्दै गरेकी झरनाको तस्बिर यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ।

    सामाजिक सञ्जालले त झरनाको दैनिकी भर्खरै देख्यो, तीन तहको सरकारलाई वर्षौंदेखि भन्दा पनि यो दृश्य देखेन। सितखोला उर्लनासाथ उनी छोरालाई विद्यालय छाड्न र विद्यालयबाट घर लैजान डोकामा यसैगरी बोकेर खोला पार गराउँछिन्।

    त्यही खोला तरेरै विद्यार्थीहरू माध्यमिक तहको अध्ययनका लागि ५ किलोमिटरको दूरीको प्युठानमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पुग्नुपर्छ।

    सितखोलामा पुल नहुँदा त्यहाँका विद्यार्थी जोखिम मोलेर ३ किलोमिटर टाढाको ऐरावति आधारभूत विद्यालयमा पुग्नुपर्छ। त्यही विद्यालयमा झरनाले छोरा राजनलाई लैजाँदै गर्दा कसैले फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि अहिले यो ‘भाइरल’ भएको छ। यसले विकास भएको भनेर परिभाषित गरिने नगरपालिकाको हविगत पनि उदाङ्ग बनाएको छ।

    नगरपालिकाको अवधारणा भनेको तुलनात्मक रूपमा सुगम स्थान हुनु हो। तर अर्घाखाँचीको सितगंगामा भने खोला तर्न पक्की पुल त परको कुरा झोलुङ्गे पुल समेत छैन। यसले गर्दा स्थानीय र विद्यार्थीहरूले भागेको पीडा व्यक्त गर्न नसकिने सितगंगा( ७ का वडाध्यक्ष देवीराम घिमिरेले बताए।

    यतिसम्मकी त्यही खोला तरेरै विद्यार्थीहरू माध्यमिक तहको अध्ययनका लागि ५ किलोमिटरको दूरीको प्युठानमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पुग्नुपर्छ।

    दैनिक उपभोग्य सामानदेखि औषधि उपचार गर्न पनि जुलेके, दमारबेंसी, रातामाटा, चौहा, फुर्सा, कानाचौर, जुवाकोट, कल्लेरीका स्थानीय जोखिम मोलेर प्युठानको सर्मारानी गाउँपालिका-१ स्थित दवाङ्ग बजारमा जानुको विकल्प नभएको उनले बताए।

    यसअघिका जनप्रतिनिधिलाई पुलको माग गरे पनि पुल बनेन। अर्घाखाँची, कपिलवस्तु र प्युठानसँग सिमाना जोडिएको सो स्थानमा पुल नहुँदा बर्खाभरि जोखिम मोलेरै विद्यार्थीहरू विद्यालय आउजाउ गर्न गरेको वडाध्यक्ष घिमिरेले बताए।

    ‘मोटरेबल पुल त बनेन, कम्तीमा झोलुङ्गे पुल भयो भने विद्यार्थी र स्थानीयले केही राहत त पाउँथे भनेर बारम्बार भनेपछि अहिले बल्ल यहाँ झोलुङ्गे पुलका लागि बजेट परेको सुनेको छु’, उनले भने।

    उनले हालै चाहिँ २र३ पटक कुनै निजी कम्पनी आएर माटो परीक्षण गरेको समेत बताए।

    ‘झरनाको फोटो सामाजिक सञ्जालमा देखेपछि धेरैले चासो पनि राखेको छन्। सत्य यही हो, यहाँ पुलको माग गर्दा पहिले पुल आएन। अहिले बजेट प्रदेशबाट परेको सुनेको छु। अब पुल बन्ला’, उनले थपे।

    लुम्बिनी प्रदेशको राजधानी दाङ भालुवाङ त्यहाँबाट २५ किलोमिटरको दूरीमा पर्छ। त्यसैले पनि त्यहाँ मोटरेबल पुल अत्यावश्यक भएको उनले बताए।

    अहिले पुल नहुँदा बर्खामा मोटरसाइकल खोला पार गर्न पनि नसक्ने भन्दै त्यहाँ पुल बन्नेबित्तिकै सन्धिखर्कबाट भालुवाङ जान सजिलो हुने उनले बताए।-उकेराबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images