images
images
  • प्रधानमन्त्री पुत्र जयवीरसिंहको कम्पनीलाई प्याडमा ९० प्रतिशत छुट

    काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्माले जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुग्नेगरी स्यानेटरी प्याड आयातमा भन्सार छुट दिएको आशंका गरिएको छ। जयवीरसिंह प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन्।

    जयवीरले स्थापना गरेको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङले विभिन्न सामान आयात र बिक्रीवितरण गर्दै आएको छ। यो कम्पनीले अहिले भन्सार छुट सुविधा पाएको स्यानेटरी प्याडको आयात पनि गर्दै आएको बताइएको छ। बजेटमा छुट सुविधाको व्यवस्था गरेपछि यो कम्पनीले अहिले विभिन्न मुलुकबाट ठुलो परिमाणमा प्याड आयात गर्ने तयारी गरेको पनि बताइएको छ।

    पूर्वअर्थमन्त्री शर्माले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा स्यानेटरी प्याड आयातमा लाग्दै आएको भन्सार शुल्कको ९० प्रतिशत छुट दिएका थिए। अर्कातिर प्याड उत्पादन गर्ने स्वदेशी कम्पनीले ल्याउने कच्चा पदार्थको भन्सार उल्टै बढाएका थिए। आयातमा भन्सार महसुल छुट दिने र आन्तरिक उत्पादनको कच्चा पदार्थ आयातमा महसुल वृद्धि गर्ने नीतिले आयातित व्यापारमा संलग्न व्यवसायीलाई दोहोरो फाइदा पुगेको छ। प्रधानमन्त्री पुत्र जयवीरको कम्पनीले पनि यही नीतिका कारण राम्रो मुनाफा पाउने निश्चित छ।

    बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गरेको आरोपमा अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका थिए। यसबारे एउटा उच्चस्तरीय छानबिन समिति पनि बनेको छ।

    ७ अर्बभन्दा बढी लगानी रहेका सेनेटरी प्याड उद्योगलाई धराशयी बनाएर व्यापार एकलौटी बनाउन जयवीरसिंहको मिलेमतोमा अर्थमन्त्रीले भन्सार छुट दिएको देखिन्छ।

    1657243425 bluprint trading 1200x560 1

    प्रधानमन्त्रीका छोरासँगको मिलेमतोमा प्याड आयातमा भन्सार छुट दिए पनि शर्माले रातो करविरुद्ध भन्सार शुल्क घटाएको दाबी गर्दै आएका छन्। जयवीरले स्थापना गरेको ब्लुप्रिन्ट ट्रेडिङ कम्पनीको चुक्ता पुँजी १ करोड रहेको छ। यो कम्पनीमा जयवीरले साझेदार पनि बनाएका छन्। उनले चितवनका हेमन्त बजगार्इंलाई साझेदार बनाएको देखिन्छ। कम्पनीमा जयवीरको नाममा ७० प्रतिशत र बजगाईंको नाममा ३० प्रतिशत सेयर छ। कम्पनी आर्थिक वर्ष २०७४र७५ मा कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा खोलिएको देखिन्छ। यसका अध्यक्षमा जयविरसिंह नै छन्।

    भन्सार विभाग स्रोतका अनुसार यो कम्पनीले करिब दुई वर्षदेखि स्यानेटरी प्याड र यस्तै प्रकृतिका अन्य सामान आयात गर्दै आएको छ। कम्पनीको अध्यक्षमा जयवीर भए पनि व्यापारिक सबै काम बजगाईंले गर्दै आएका छन्। स्यानेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगहरू एकपछि अर्को खुल्दै जान थालेपछि अपेक्षाअनुसार विदेशी प्याड आयात बढ्न सकेको थिएन। अहिले प्याड उत्पादन गर्ने उद्योग मुलुकभरमा गरी तीन दर्जनभन्दा बढी भइसकेको र प्रत्येक वर्ष लगानी थपिरहेको अवस्था छ।

    अहिले नै यो उद्योगमा ७ अर्बभन्दा बढी लगानी भइसकेको छ। बढ्दो क्रममा रहेका स्वदेशी उद्योगलाई धराशयी बनाएर व्यापार एकलौटी बनाउन जयवीरसिंहको मिलेमतोमा अर्थमन्त्रीले यो कदम चालेका हुन्। अर्थमन्त्री शर्माले आफैंले पनि विभिन्न व्यावसायिक घरानाहरूसँग मिलेर करको दरमा चलखेल गरी आर्थिक लाभ लिने नीति लिएकाले दुवैको स्वार्थ मिलेको आशंका गरिएको छ।

    बजेटअगाडि विदेशबाट स्यानेटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो। सरकारले ९० प्रतिशत छुट दिएपछि अब भन्सार महसुल १।५ प्रतिशत मात्र लाग्नेछ। बजेटले प्याड आयातमा भन्सार महसुल घटाएपछि उद्योग धराशयी हुने भन्दै प्याड उद्योगीले प्रधानमन्त्री देउवासहित गठबन्धन दलका सबै उच्च नेतालाई भेटेर नीति सच्याउन माग गरेका थिए। अहिले पनि पूर्वी नेपालका उद्योगीहरू बजेटको यो व्यवस्थाको विरोधमा आन्दोलनरत छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images