images
images
  • कांग्रेसबाट निर्वाचित विनायककी मेयर चलाउने हत्या आरोपमा पक्राउ

    अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिकी मेयर अम्बिका चलाउने हत्या आरोपमा पक्राउ परेकी छिन् । यसै नगरपालिकाका १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा मेयर चलाउने पक्राउ परेकी हुन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले घटनाको अनुसन्धानका लागि चलाउने र अर्का एक जनालाई शनिबार पक्राउ गरेको जानकारी दिए । तर उनीहरुलाई कुन ठाउँबाट पक्राउ गरिएको हो ? भन्ने कुरा खुलाइएको छैन ।

    यो सँगै शाही मृत्युको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

    प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंमा पक्राउ गरेर अछाम ल्याइएको हो ।

    ३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

    पछि कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

    शाहीको हत्या गरिएको भन्दै दोषीलाई पक्राउ गर्न माग गर्दै परिवारले ५ दिन सम्म घटनास्थलबाट शव उठाउन दिएको थिएन । प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु शव बुझ्न तयार भएका थिए ।

    घटनाको विरोधमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले अछाममा आज र भोलि सवारीसाधन बन्द गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images