images
images
  • अछाममा साटियो मतपेटिका

    काठमाडौ – अछामका दुई वटा मतदान केन्द्रमा मत साटिएको छ । ज्ञानदीप केन्द्रमा ५६ मत र सरस्वती केन्द्रमा ९२ मत भूलबशः अर्कै बाकसमा खसेको बताइएको छ । ‘कर्मचारीको भूलका कारण अर्को बाकसमा मत खस्न गएको हो,’ मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले बताए ।

    मङ्गलसेन नगरपालिका ३ को शिवनिवास आधारभूत विद्यालय र मङ्गलसेन नगरपालिका ८ को सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा मत पेटिका फरक परेको हो । प्रतिनिधि सभा सदस्यको मत प्रदेशसभा सदस्यको बाकसमा र प्रदेश सभा सदस्यको मत प्रतिनिधि सभाको लागि छुट्याइएको बाकसमा खसालिएको हो ।

    उता बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ ।स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवति माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

    उनले आगजनीको कारण भने नखुलेको बताए । ‘आगजनी कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छनविन भइरहेको छ ।’ सो मत पेटिकामा ९ सय ५० मत खसेका थिए ।मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थिगित भएको एसएसपी रावलले बताए ।

    त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ मा पनि कांग्रेस र एमालेका कार्यकर्तावित भएको विवादका कारण मतदान स्थगित भएको छ । सो स्थानमा कांग्रेस र एमाले कार्यकर्ताविच झडप हुँदा केही मानिस घाइते समेत भएका छन् ।बाजुराका अन्य स्थानमा भने मतदान भइरहेको एसएपी रावलले जानकारी दिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images