काठमाडौं– हाल उपत्यकामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएसँगै जार र बोतलको पानीमा कत्तिको शुद्धता भन्ने विषयमा प्रश्न उठी रहेको छ । “बजारमा पाइने जार र बोतलमा प्याकिङ गरिएको पानीको शुद्धता के हो ?” महानगरको हटलाइन ११८० मा नागरिकले प्रश्न सोधेका छन् । “शुद्धताका लागि मूल्य तिरेर किनेको पानी शुद्ध भएन भने किनेर पानी किन खानु ?,” शंखमूलबाट फोन गर्ने व्यक्तिले प्रश्न थियो । यो प्रश्नको उत्तरमा महानगरका स्वास्थ्यकर्मीको जवाफ थियो, “पानी जहाँको होस्, उमालेर मात्र प्रयोग गर्नुहोस् ।”
हटलाइनमा बेलुका ६ बजेदेखि फोन आउन थालेको हो । फोनमा जिज्ञासुहरूले काठमाडौंका कुन—कुन ठाउँमा हैजा फैलिएको छ ? ब्लिचिङ पाउडर के हो ? कसरी प्रयोग गर्ने, यो पाउडर वितरण भएको छ कि छैन ? पानी जाँच कहाँ गर्ने ? हैजाका लक्षण के–के हुन् ? प्राथमिक उपचार के गर्ने ?, घरमै केही औषधि छ कि जस्ता प्रश्न गरेका थिए । त्यसैगरी, पानी कसरी शुद्ध गर्ने ?, शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन ? जस्ता जानकारी नागरिकले मागेका छन् ।
महानगरले कल सेन्टरमा स्वास्थ्य सम्बन्धी सूचना दिन २४ घण्टा टोल फ्रि नंम्बर ११८० सञ्चालन गरेको छ ।
महानगरमा हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ ।
होटल रेस्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै, पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।


विश्व खबर 


















