
काठमाडौं- आज प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ को एक र दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ । वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुनसक्ने असरहरूबाट बच्न पनि सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
महाशाखाका अनुसार हाल देशको प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।
सप्तरी र आसपासका क्षेत्रमा डुबानको सम्भावना रहेकाले सतर्क हुन आग्रह गरिएको छ ।
सप्तरीको बरमजिया, फत्तेपुरलगायत आसपासको केही स्थानमा ठूलो वर्षा भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले माउली, खाडो, त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्क रहन विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्