images
images
  • भिजिट भिसामा साढे दुई करोड ठगी: ३८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    काठमाडौं- भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पुर्‍याएर ठगी गर्ने गिरोहमा संलग्न ३८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । प्रहरीले पहिलो चरणको अनुसन्धान पूरा भएपछि उनीहरूविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ३८ जनाविरुद्ध दुई करोड ६३ लाख ५४ हजार ६ सय १० रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा चलाउन सिफारिस गरेको हो । बुधबार गिरोहमा सहभागी पाँचजना पक्राउ परेका थिए ।

    ३८ मध्ये तीनजनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिससमेत जारी गरेको छ । गिरोहका नाइके कोमलराज उपाध्याय, भूपेन्द्र बोहरा र होमबहादुर खड्काविरुद्ध रेड नोटिस जारी भएको हो । उनीहरूमध्ये खड्कालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुईजना फरार नै छन् ।

    भिजिट भिसा ठगी प्रकरणमा ५३ वटा जाहेरी परेको सिआइबीका एसएसपी कुबेर कडायतले बताए । ‘५३ वटा जाहेरीमा ८३ जना पीडित छन्,’ एसएसपी कडायतले भने, ‘हामीले ३८ जनाविरुद्ध ठगी र आपराधिक लाभ मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेस गरेका छौँ ।’

    सिआइबीले बुधबार खड्का, मधुविलास बाँस्कोटा, रञ्जना ढकाल प्याकुरेल, खुमबहादुर बस्याल र सन्तोष प्याकुरेललाई पक्राउ गरेको हो । पक्राउ परेकी रञ्जना गिरोहका नाइके कोमलराजकी श्रीमती हुन् । उनकै बैंक खातामार्फत धेरै कारोबार भएको सिआइबीले जनाएको छ ।

    नाइके कोमलराजले दुबईमा त्रिनेत्र कन्सल्टेन्स लिमिटेड नामक कम्पनी चलाउँदै आएका छन् । उनलाई केही समयअघि दुबईमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई नेपालमा डिपोर्ट गराउन प्रहरीले पहल गरिरहेको छ । उनीसहित गिरोहमा आबद्ध राजन ठकुरी, खगेन्द्र फुँयाल, खगेन्द्र लम्सालविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागिएको छ ।

    यसरी भिजिट भिसामा दुबई पुगेपछि सयौँ सर्वसाधारण अलपत्र परेका थिए । कतिपयलाई विभिन्न संघसंस्थाले उद्धार गर्नुपरेको थियो । आठ लाख रुपैयाँसम्म लिएर कतिपय युवालाई रोजगारीको प्रलोभनमा युएई लगिएको थियो । यसका लागि नक्कली कागजपत्र बनाइएकोसमेत अनुसन्धानमा खुलेको छ ।

    यस विषयमा यसअघि सरकारले समेत छानबिन गरेको थियो । गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षको समितिले छानबिन गर्दा सन् २०२१ मा ७२ हजार नेपाली भिजिट भिसामा युएई पुगेका र त्यसमध्ये धेरैजसोलाई विभिन्न समूहले त्यहाँ लगेको खुलेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images