images
images
  • परराष्ट्रद्वारा राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान, राजदूत बन्न के-के छन् मापदण्ड ?

    काठमाडौँ – परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रिक्त रहेका नेपालको राजदूत पदका लागि खुला आवेदन तथा सिफारिस आह्वान गरेको छ।

    मन्त्रालयले योग्य, अनुभवी तथा इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गर्दै कूटनीतिक क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रक्रिया अघि बढाएको जनाएको छ।

    मन्त्रालयद्वारा जारी सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले स्वयं दरखास्त दिन सक्नेछन् भने कुनै पनि व्यक्ति वा संस्थाले योग्य व्यक्तिको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

    राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार मन्त्रालयको वेबसाइटमा उपलब्ध कार्यशर्त (टीओआर) बमोजिम योग्यता पुगेका उम्मेदवारहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन वा सिफारिस गर्दा विस्तृत व्यक्तिगत विवरण (बायोडाटा) सहित आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

    मन्त्रालयले तोकेको आधिकारिक फारममार्फत आवेदन दिन सकिनेछ भने आवश्यक विवरण इमेलमार्फत पनि पठाउन सकिने जनाइएको छ।

    दरखास्त तथा सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ बजेसम्म तोकिएको छ। निर्धारित समयपछि प्राप्त हुने वा अपूर्ण आवेदनलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्त्रालयले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images