काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्रै वैदेशिक रोजगारीका लागि विदेश यात्रा गर्न नेपाली श्रमिकहरूलाई अनुरोध गरेको छ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रमिक भिसामा विदेश जान लागेका कतिपय नेपालीले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन मात्र दिएर स्वीकृति प्राप्त नगरी नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने गरेको पाइएको छ। यसले यात्रुहरूलाई अनावश्यक समस्या र झन्झट व्यहोर्नुपरेको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार केही श्रमिकले आफ्नो श्रम स्वीकृति भइसकेको दाबी गरे पनि उनीहरूको तर्फबाट अन्य व्यक्तिमार्फत आवेदन मात्र दर्ता गरिएको हुने र स्वीकृतिको वास्तविक अवस्थाबारे स्वयं श्रमिकलाई जानकारी नहुने गरेको छ।
विभागले श्रमिक भिसामा विदेश जाने सबै नेपालीलाई आफ्नो श्रम स्वीकृति जारी भइसकेको यकिन गरेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ। श्रम अनुमति आवेदन दर्ता भएको मात्र अवस्थामा, स्वीकृति प्राप्त नभएसम्म श्रमिक भिसामा अध्यागमनबाट प्रस्थान अनुमति दिन नसकिने विभागले स्पष्ट पारेको छ।






















