images
images
  • चुनाव खर्चबारे अनुगमन गर्न ८ एसएसपीको नेतृत्वमा अनुगमन टोली परिचालन

    काठमाडौँ- प्रहरी प्रधान कार्यालयले सबै प्रदेश र काठमाडौँ उपत्यकामा स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्चबारे अनुगमन गर्न टोली परिचालन गरेको छ ।

    आइजिपी धिरजप्रताप सिंहले ७ प्रदेश र उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा अनुगमन टिम परिचालन गरेका हुन् ।

    स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्च पारदर्शिताबारे अनुगमन गर्न ८ जना एसएसपीलाई खटाइएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । प्रदेश-१ मा सन्दीप भण्डारी, मधेस प्रदेशमा टेकप्रसाद राई, बागमतीमा श्यामलाल ज्ञवाली, गण्डकीमा भरत बोहरा, लुम्बिनीमा बुद्धिराज गुरुङ, कर्णालीमा चन्द्र कवेर खापुङ खटिएका छन् । सुदूरपश्चिम प्रदेशमा रामदत्त जोशी र काठमाडौं उपत्यकामा दीपक थापा खटिएका छन् ।

    अनुगमनमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षकहरुले असार १ सम्ममा प्रतिवेदन दिनुपर्नेछ ।

    आइजिपी सिंहले आर्थिक अनुशासन कायम भए नभएकोबारे प्रतिवेदन पेस गर्न एसएसपीहरूलाई निर्देशन दिएका छन् । त्यस्तै, म्यादी प्रहरी परिचालनबारे पनि अनुगमन र पृष्ठपोषण लिन एसएसपीहरूलाई कार्यादेश दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images