images
images
  • व्यवसायीलाई समस्यामा पार्न खोजेको होइन : अर्थमन्त्री शर्मा

    काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।

    त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकीकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए ।

    ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’, उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’

    महिलालाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको भए समाधान निकाल्न तयार रहेको अर्थमन्त्रीले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए । बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रष्ट पारे । ‘बजेट तपाईहरु (व्यवसायी) का लागि हो । देशका लागि हो’, अर्थमन्त्री शर्माले भने, ‘हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेका हौँ ।’

    छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुति दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images