काठमाडौ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानका १७ बर्षिय किशोर विनाेद शाहीको हत्या भएको भन्दै हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंकाे माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
मृत भेटिएका विनोद शाहीको हत्या भएको भन्दै काठमाडौंमा बस्दै आएका अछामवासी युवाले प्रदर्शन गरेका हुन् । उनीहरूले हत्यारालाई फासी दे, नालायक नगरप्रमुख राजिनामा दे, राजनीतिक गुण्डागर्दी मुर्दावाद, स्थानीय सरकार मुर्दावाद लगायतका नारा लगाएका छन् ।
१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ बस्ने बल बहादुर शाहीको छोरा १७ वर्षीय बिनोद शाही शनिबार बिहान १० बजेर २० मिनेटमा मृत भेटिएका हुन् । उनी जेठ १७ गतेबाट हराएका परिवारले बताएको छ ।
अछामकाे विनायकमा याे घटनाले उग्र रूप लिएको छ । विवाद बढेपछि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
परिवारले किशोर हराएकोबारे शनिवार बिहान जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दिएका थिए । शनिवार बिहानै पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी नायब निरिक्षक कुमार थापाको नेतृत्वमा धनगढीबाट DOG टोलि समेत घटनास्थल पुगिसकेको बताइएको छ ।
अछामस्थित इलाका प्रहरी कार्यालय कमल बजारका इन्स्पेक्टर भास्कर बहादुर चन्द नेतृत्वको टिम पनि घटनास्थलमा परिचालन गरिएको छ ।

्


विश्व खबर 




















