काठमाडौं- चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा बढाइने भएको छ । सवारी इन्धनको निरन्तर मूल्यवृद्धि भएसँगै नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि गर्ने भएको हो ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले रसुवा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई २५ जेठदेखि लागू हुने गरी रसुवागढी र तातोपानी नाकामा सञ्चालन हुने ट्रक-कन्टेनरको ढुवानी भाडा समायोजन गरिएको पत्र पठाएका छन् ।
समायोजन गरिएको ढुवानी मूल्यअनुसार टिमुरेदेखि काठमाडाैंसम्म रेडिमेडको एक लाख ५ हजार र स्याउको ८५ हजार भाडा निर्धारण गरिएको छ । त्यसैगरी तातोपानी नाकादेखि काठमाडाैंसम्म रेडिमेडको ५० हजार र स्याउको ४५ हजार भाडा निर्धारण गरिएको छ ।
समायोजन गरिएको मूल्य अनिवार्य कार्यान्वयनका लागि पहल गर्न पत्रमार्फत सापकोटाले अनुरोध गरेका छन् ।
दुवै नाकाको सिमानादेखि काठमाडाैंको दूरी करिब समान भए पनि अहिले समायोजन गरिएको भनिएको ढुवानी भाडा दुई गुणासम्म फरक पर्न जाने व्यापारी धर्म पौडेलले बताए । ‘दुवै नाकाको लगभग समान दूरीमा पाँच-दस हजारको फरकले खासै अन्तर राख्दैन तर यो दुई गुणा फरक देखिन्छ, यो हुनु भनेको रसुवागढी नाकाको आयात ढुवानी महँगो बनाई अन्यत्र स्थानान्तरण गराउने चेष्टा हो,’ उनले भने, ‘तातोपानीदेखि काठमाडाैंसम्म प्रति कन्टेनर ३२ हजार रसुवागढीदेखि काठमाडाैंसम्म प्रतिकन्टेनर ८७ हजार पाँच सय रुपैयाँ थियो, अब दुई गुणा ढुवानी मूल्य बढाइँदैछ, यो वैज्ञानिक भएन ।’
तातोपानी नाका हुँदै नेपाल आयात हुने मालवस्तु ढुवानीमा केही सीमित ढुवानी कम्पनीको एकलाैटी सिन्डिकेट रहेकोसमेत उनले बताए । ‘रसुवाको जस्तो आलोपालो प्रणालीअनुसार सम्पूर्ण ट्रकले मालवस्तु ढुवानी गर्न पाइँदैन, अब वृद्धि हुने भाडा प्रति ट्रक तातोपानी नाकाभन्दा रसुवामा ५७ हजार पाँच सय रुपैयाँ बढी पर्न जान्छ, अनि कसरी स्वस्थ प्रतिस्पर्धा हुन सक्छ ?’ उनले भने, ‘यति धेरै भाडाको अन्तरले गर्दा रसुवागढी नाकाको आयात अझै घट्ने छ, आयात घटेपछि गाडीहरू पालोको लागि धेरै समय लाइनमा कुरेर बस्नुपर्ने छ यसकाे असर सिधै ट्रक कन्टेनर व्यवसायीलाई पर्न जान्छ।’


विश्व खबर 




















