काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेकी छन् ।
उनले आज ट्वीटमार्फत उक्त घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएकी छन् ।
पोखरादेखि जोमसोमका लागि उडेको चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका २ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन् ।
जहाजमा सवार सबैको दुःखद निधन भएको जनाइएको छ ।























