images
images
  • एलिस हुआङ चिनियाँ जासुस नै हुन् त ? जो एनभिडियाका प्रमुख जेनसनसँग छिन् निकट

    काठमाडौं– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगका सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङमाथि चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी एक महिलासँग सम्बन्धमा रहेको आरोप लागेको छ । यस विषयमा अनुसन्धानसमेत सुरु भएको छ ।

    अमेरिकी गुप्तचर अधिकारीहरूले चिनियाँ व्यवसायी महिला एलिस हुआङ चीनका लागि जासुसी गरिरहेको आशङ्का गरेका थिए । द न्युयोर्क टाइम्सले प्रकाशित गरेको एक रिपोर्टमा यो विषय सार्वजनिक भएको हो ।

    अधिकारीहरूका अनुसार एलिसको एनभिडियाका सहसंस्थापक तथा सीईओ जेनसन हुआङसँग निकट सम्बन्ध थियो ।

    आइतबार जेनसन हुआङले आफ्नी श्रीमतीप्रति बेइमानी गरेको स्वीकार गर्दै पत्नी र छोराछोरीलाई दुःख पुर्‍याएकोमा माफी मागेका थिए ।

    एनभिडियाले यस विषयमा स्वतन्त्र अनुसन्धान सुरु गरेको जनाएको छ । यद्यपि कम्पनीले यस प्रकरणबाट अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै सम्झौता भएको आफूलाई नलागेको स्पष्ट पारेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार यस विषयमा एफबीआईले समेत अनुसन्धान गरिरहेको बताएका छन् । यसबारे प्रतिक्रिया लिन बीबीसीले एफबीआईसँग सम्पर्क गर्दा अनुसन्धानबारे थप टिप्पणी गर्न अस्वीकार गरेको थियो ।

    ट्रम्पका अनुसार उनले सोमबार जेनसन हुआङसँग कुराकानी गरेका थिए । यसअघि चीनले जासुसी अभियानअन्तर्गत हुआङलाई निशाना बनाएको हुन सक्ने आशङ्कासहितका समाचार सार्वजनिक भएका थिए ।

    पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले उनलाई सोधें, ‘के तपाईंलाई उनी जासुस हुन् भन्ने थाहा थियो ?’ उनले भने, ‘मलाई उनी जासुस हुन् भन्ने बिल्कुलै थाहा थिएन ।’ र, मलाई साँच्चिकै उनीमाथि विश्वास छ ।’

    जेनसन हुआङसँग एलिस हुआङको सम्बन्धबारे के खुलासा भएको छ ?

    1232b0e0 dc37 11f1 95cf a38331e6cb4b.jpg

    द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूले एलिस हुआङलाई चीनको प्रमुख गुप्तचर निकायले जासुसीका लागि भर्ती गरेको आशङ्का गरेका थिए । हाल उनी कहाँ छिन् भन्नेबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।

    एलिस हुआङ र जेनसन हुआङबीच पारिवारिक सम्बन्ध भने छैन । एलिस सन् २०२३ को मार्चदेखि नोभेम्बरसम्म सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडमा उच्च पदमा कार्यरत थिइन् ।

    उक्त कम्पनीले एनभिडियाका चिप्स चीन पठाउन सहयोग गरेको आशङ्का गरिएको थियो । यद्यपि एनभिडियाले यस विषयमा अनुसन्धान भइसकेको र लगाइएका आरोप गलत प्रमाणित भएको जनाएको छ ।

    अमेरिकी प्रतिबन्ध छल्दै एनभिडियाका अत्याधुनिक चिप्स निर्यात गर्ने प्रयास गरेको आरोपमा सिंगापुर सरकारले मेगास्पिडमाथि अनुसन्धान गरिरहेको छ । यस विषयमा प्रतिक्रिया लिन बीबीसीले मेगास्पिडसँग सम्पर्क गरेको जनाएको छ ।

    गत महिना द न्युयोर्क टाइम्ससँग कुरा गर्दै कम्पनीले आफ्नो वर्तमान व्यवस्थापनले यी आरोपलाई गम्भीरतापूर्वक लिएको र आन्तरिक अनुसन्धानका लागि बाह्य कानुनी सल्लाहकार नियुक्त गरेको बताएको थियो ।

    रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूले निगरानीका क्रममा एलिस हुआङ र एक अमेरिकी नागरिकबीच भएको कुराकानी फेला पारेका थिए । पछि ‘अनमास्किङ’ नामक प्रक्रियामार्फत ती अमेरिकी नागरिक जेनसन हुआङ भएको पहिचान गरिएको थियो ।

    तर एलिस हुआङ, जसलाई हुआङ भनेर पनि चिनिन्छ, ले कथित रूपमा कस्तो खुफिया जानकारी सङ्कलन गरिन् र त्यो बेइजिङसम्म कसरी पुर्‍याइन् भन्ने विषय अझै स्पष्ट भएको छैन । उनले यस विषयमा द न्युयोर्क टाइम्सका प्रश्नको जवाफ दिएकी छैनन् ।

    अमेरिकी गुप्तचर अधिकारीहरूको चिन्ताबारे एनभिडियालाई जानकारी थियो कि थिएन भन्ने विषयमा बीबीसीले सोधेको प्रश्नमा कम्पनीले त्यस्तो जानकारी नभएको बताएको थियो ।

    एनभिडियाका एक प्रवक्ताले बीबीसीसँग भने, ‘यदि हामी कुनै वास्तविक खतराको निशानामा थियौं भने अमेरिकी सरकारले हामीलाई त्यसबारे जानकारी गराउने थियो भन्नेमा हामी विश्वस्त छौं ।’

    उता चीनले आफूमाथि लगाइएको जासुसीसम्बन्धी आरोप अस्वीकार गरेको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा भने, ‘हामीले यस विषयमा पहिले नै जवाफ दिइसकेका छौं । चिनियाँ जासुससँग सम्बन्धित यी आरोप पूर्णतः आधारहीन, अड्कलबाजीमा आधारित र चीनलाई बदनाम गर्ने उद्देश्यले लगाइएका हुन् ।’

    द न्युयोर्क टाइम्सले गत अक्टोबरको अन्त्यतिर प्रकाशित गरेको रिपोर्टमा ट्रम्पलाई गत वर्ष एलिस हुआङ चीनका लागि जासुसी गरिरहेको आरोपसहितको गुप्तचर सूचना दिइएको उल्लेख गरेको थियो ।

    आइतबार पत्रकारहरूले गुप्तचर सूचना प्राप्त भएपछि ट्रम्पले यस विषयमा कुनै कदम चाल्नुपर्ने थियो कि थिएन भनेर प्रश्न गरेका थिए । जवाफमा ट्रम्पले भने, ‘होइन, मलाई त्यस्तो लाग्दैन । उनी सम्मानित व्यक्ति हुन् भन्ने मलाई लाग्छ ।’

    यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेनसन हुआङसँग सम्बन्धित विषयमा सोधिएको प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन् ।

    द न्युयोर्क टाइम्सका अनुसार गत वर्ष वसन्त ऋतुमा रुबियोले यस विषयमा एउटा मेमो तयार गर्ने प्रक्रियाको निगरानी गरेका थिए । उक्त मेमोमा ट्रम्प प्रशासनलाई जेनसन हुआङ र चिनियाँ व्यवसायी महिलाबीचको सम्बन्धबारे सचेत गराइएको थियो ।

    यो प्रकरण किन महत्त्वपूर्ण छ ?

    व्हाइट हाउस में एक बैठक के दौरान डोनाल्ड ट्रम्प जेनसेन हुआंग से बात करने के लिए उनकी ओर झुकते हैं.

    एनभिडिया अमेरिका र चीनबीच जारी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धाको केन्द्रमा रहेको कम्पनी हो । त्यसैले कम्पनीका अर्बपति प्रमुखको निजी सम्बन्धलाई लिएर सार्वजनिक भएका आरोपले अमेरिकी सांसदहरूबीच राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको छ ।

    राष्ट्रपति ट्रम्पले यसअघि नै ‘एआईको दौड जसले जित्छ, उसैले जित्छ’ भन्दै आएका छन् । अमेरिकाको चिन्ता के छ भने चीन एआई प्रविधिमा अमेरिकाभन्दा अगाडि बढेमा उसको सैन्य शक्ति र निगरानी क्षमता तीव्र रूपमा विस्तार हुन सक्छ ।

    एआई क्षेत्रमा अमेरिकाले कायम राखेको अग्रतालाई बलियो बनाउने प्रमुख आधारमध्ये एनभिडिया जस्ता अमेरिकी प्रविधि कम्पनीहरू हुन् । यी कम्पनीले ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) जस्ता उत्पादकसँग सहकार्य गर्छन् । टीएसएमसीले विश्वका ९० प्रतिशतभन्दा बढी अत्याधुनिक चिप्स उत्पादन गर्ने गरेको छ ।

    सन् २०२२ देखि अमेरिकाले अत्याधुनिक प्रविधि चीन पुग्न नदिन विभिन्न प्रकारका निर्यात प्रतिबन्ध लागू गर्दै आएको छ । अमेरिकाका अनुसार यी प्रतिबन्धले आफ्नो प्रविधिगत प्रतिस्पर्धात्मक अग्रता कायम राख्न र राष्ट्रिय सुरक्षा जोगाउन सहयोग पुर्‍याउँछन् ।

    तर यस्ता प्रतिबन्धका कारण एनभिडिया जस्ता अमेरिकी कम्पनीलाई विश्वकै ठूला बजारमध्ये एक चीनमा व्यवसाय गर्न कठिन भएको छ । जेनसन हुआङले एकपटक चिनियाँ बजारमा एनभिडियाको हिस्सा करिब ९५ प्रतिशतबाट घटेर लगभग शून्यमा झरेको बताएका थिए ।

    हुआङ अमेरिका र चीनबीच संवाद तथा व्यावसायिक सम्बन्ध कायम राख्ने प्रयासमा निरन्तर सक्रिय रहँदै आएका छन् । उनको उद्देश्य चिनियाँ बजारमा पुनः प्रवेशका लागि अमेरिकी सरकारबाट अनुमति प्राप्त गर्नु र त्यसका लागि अमेरिकी नीतिमा प्रभाव पार्नु रहेको बताइन्छ ।

    आइतबार सार्वजनिक भएको खुलासाले एनभिडियाका लागि सबैभन्दा महत्वपूर्ण व्यावसायिक उपलब्धि हासिल गर्न हुआङ अहिलेसम्म किन सफल हुन सकेका छैनन् भन्ने विषय बुझ्न सहयोग गर्न सक्छ ।

    त्यो उपलब्धि भनेको ट्रम्प प्रशासनबाट चीनलाई एनभिडियाका सबैभन्दा अत्याधुनिक चिप्सबाहेक अन्य चिप्स बिक्री गर्न अनुमति प्राप्त गर्नु हो ।

    को हुन् जेनसन हुआङ ?

    Jensen Huang

    जेनसन हुआङको जन्म सन् १९६३ मा ताइवानमा भएको हो । उनी नौ वर्षको हुँदा उनको परिवार अमेरिकाको पश्चिमी तटमा बसाइ सरेको थियो । उनले ओरेगन स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड युनिभर्सिटीबाट सोही विषयमा स्नातकोत्तर गरेका छन् ।

    हुआङले अमेरिकी चिप निर्माता कम्पनी एएमडीमा काम गरेका थिए। त्यसपछि उनले एनभिडियाको सहस्थापना गरे। ताइवानमा उनलाई ‘ड्याडी हुआङ’ भनेर चिनिन्छ । एकपटक उनलाई प्रविधि क्षेत्रको ‘टेलर स्विफ्ट’ समेत भनिएको थियो ।

    हुआङ कामप्रति अत्यन्त समर्पित व्यक्तिका रूपमा चिनिन्छन् । उनी आफ्ना कर्मचारीबाट पनि उच्चस्तरको कार्यसम्पादनको अपेक्षा राख्छन् ।

    ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार उनको अनुमानित सम्पत्ति १५५ अर्ब अमेरिकी डलर छ ।

    हुआङको जीवनी ‘थिंकिङ मेसिन’ का लेखक स्टेफन विटले बीबीसीसँग कुरा गर्दै उनलाई प्रविधि क्षेत्रका स्टिभ जब्सजस्तै दूरदर्शी व्यक्तित्वका रूपमा व्याख्या गरेका छन् ।

    उनका अनुसार अहिले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा प्रयोग भइरहेका हार्डवेयरको विकासमा हुआङको महत्त्वपूर्ण भूमिका रहेको छ ।

    हुआङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि निकट सम्बन्ध रहँदै आएको छ । हालै ह्वाइट हाउसमा आयोजित एआई सम्मेलनमा ४२ वटा प्रविधि कम्पनीका अधिकारी सहभागी भएका थिए । उक्त सम्मेलनका क्रममा ट्रम्पको दायाँबायाँ एलन मस्क र जेनसन हुआङ देखिएका थिए ।

    यद्यपि अनुसन्धानसम्बन्धी समाचार सार्वजनिक भएपछि आफूले एनभिडियाका प्रमुख हुआङसँग कुराकानी नगरेको ट्रम्पले बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई यति मात्र थाहा छ कि उनी असल व्यक्ति हुन् । तर के भइरहेको छ भन्ने कुरा कहिल्यै निश्चित रूपमा भन्न सकिँदैन ।’

    ट्रम्पले हुआङले अमेरिकाका लागि उत्कृष्ट काम गरेको भन्दै उनको प्रशंसासमेत गरेका छन् ।

    -बीबीसीलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images