images
images
  • नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्या

    काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सम्पूर्ण नेपालीको साझा सम्पदा भएको बताएको छ । नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेवार समुदायको सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध राख्ने नेपाल संवत् समग्र नेपालीको मौलिक पहिचान र साझा गौरव भएको उल्लेख गरेको छ । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    सभामुख अर्यालले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर नेपाल संवत् प्रारम्भ गरेको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै यसले नेपालको सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको बताएको छ । जनकल्याण, परोपकार र सामाजिक न्याय यसको विशिष्ट सन्देश रहेको उनको भनाइ छ । नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा यसको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक सबैको साझा दायित्व भएको उनले उल्लेख गरेको छ । यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएको छ ।

    मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानुन निर्माण, नीतिगत बहस र सरकारको जवाफदेहितामार्फत संसद्मा प्राथमिकताका साथ सम्बोधन गरिने विश्वास पनि सभामुख अर्यालले व्यक्त गरेको छ । यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले प्रभावित परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । यस्तो कठिन समयमा एकता, सहयोग र मानवीय समवेदना नै सबैभन्दा ठूलो शक्ति हुने उनले उल्लेख गरेको छ । नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वाससमेत सभामुख अर्यालले व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images