काठमाडौं – धानबाली भित्र्याउने समय र तिहारको चाडपर्व एकैपटक परेपछि भोजपुरका किसानलाई दोहोरो चटारो परेको छ । पाकेको धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त हुँदा किसानले यस वर्ष तिहारको रमझममा पर्याप्त समय दिन पाएका छैनन् ।
भोजपुर नगरपालिका–५ का किसान रुपनारायण फुयालले धान भित्र्याउने काममा व्यस्त हुनुपर्दा तिहार आएको अनुभूतिसमेत गर्न कठिन भएको बताए । चाडपर्वमा परिवारसँग बसेर रमाइलो गर्न मन भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
फुयालका अनुसार कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन। किसानहरू एकअर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याइरहेका छन् । यही गतिमा काम अघि बढे मङ्सिर १० देखि १५ गतेसम्म पनि धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको उनले बताए ।
अर्की किसान करुणा थापाले धान भित्र्याउने समयमा कामदार पाउन समस्या भइरहेको बताउनुभयो। गाउँमा खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा धान भण्डारणको काम ढिलो भइरहेको उनको भनाइ छ । केही किसानले आफ्नो खेतको धान भित्र्याएपछि मात्रै अरूले कामदार पाउने भएकाले पालो कुर्नुपर्ने अवस्था रहेको उनले बताए ।
धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाट्ने, सुकाउने र भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसान बताउँछन्। अर्मपर्मको परम्पराअनुसार एकअर्कालाई सहयोग गर्दा पनि सबैको धान एकै समयमा भित्र्याउन नसकिने भएकाले कामको चाप बढेको छ ।
किसान अनुराग पोखरेलले धान पाकेर भित्र्याउने समय र तिहार एकैपटक परेकाले ग्रामीण क्षेत्रका किसानलाई दोहोरो जिम्मेवारी परेको बताउनुभयो। एकातिर वर्षभरि गरेको मेहनतको उपज सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने र अर्कातिर चाडपर्व मनाउने चाहना हुँदा समय व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ ।






















