images
images
  • डडेल्धुरामा पुष्पखेतीप्रति युवाको आकर्षण, एक सिजनमै एक लाखसम्म आम्दानी

    काठमाडौं – रोजगारीका लागि विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला डडेल्धुराका केही युवा भने आफ्नै गाउँमा व्यावसायिक पुष्पखेती गरेर आम्दानी गर्न थालेका छन् । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा आकर्षित भएका हुन् ।

    पुष्पखेतीले युवालाई स्वरोजगारको अवसर दिनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ । विशेषगरी दसैँ, तिहार र छठजस्ता पर्वमा सयपत्री फूलको माग बढ्ने भएकाले किसानले राम्रो बजार पाउन थालेका छन् ।

    अजयमेरु गाउँपालिका–५ झिगनीका ३४ वर्षीय टेकराज पाठक यसको उदाहरण हुनुहुन्छ । कृषि प्राविधिक शिक्षा अध्ययन गर्नुभएका उहाँले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचका साथ चार वर्षअघि सयपत्री फूलखेती सुरु गर्नुभएको थियो । सुरुका दिनमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपर्ने अवस्था थियो । अहिले भने फूल किन्न ग्राहक घरमै पुग्ने गरेका छन् ।

    पाठकले स्थानीय जातका सयपत्रीसँगै ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आउनुभएको छ। कृषि ज्ञान केन्द्रबाट टनेल र गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग प्राप्त गर्नुभएका उहाँले दसैँ र तिहारको समयमा डडेल्धुरासहित कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आउनुभएको छ ।

    उहाँका अनुसार फूलको माला प्रतिगोटा १०० देखि २०० रुपैयाँ र खुला फूल प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्म बिक्री हुने गरेको छ। यसबाट एक सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए ।

    त्यस्तै, अमरगढी नगरपालिका–१ डोलाका सुरत ऐर पनि पाँच वर्षदेखि पुष्प व्यवसायमा संलग्न हुनुहुन्छ। कृषि विषयमा स्नातकोत्तर अध्ययन गरिरहनुभएका ऐरले करिब डेढ रोपनी जमिनमा सयपत्री फूलखेती गर्नुभएको छ। विदेश जानुभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गर्नुभएका उहाँका लागि अहिले पुष्पखेती परिवारको आम्दानीको मुख्य स्रोत बनेको छ। उहाँ स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धन बढाउनुपर्नेमा जोड दिए ।

    पर्शुराम नगरपालिका–४ कटालका चक्रसिंह मालले पनि तीन रोपनी जमिनमा सयपत्री फूलखेती गर्दै आउनुभएको छ। चार वर्षअघि सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै उहाँले ‘कर्मा ५५५’ जातको फूल उत्पादन गरी दसैँ, तिहार र छठका समयमा डडेल्धुरादेखि धनगढीसम्म बिक्री गर्दै आएको छ ।

    यद्यपि, पुष्प व्यवसायमा सम्भावना देखिए पनि किसानले विभिन्न चुनौती सामना गर्नुपरेको छ । बीउको उपलब्धता, सिँचाइ सुविधा र बजार व्यवस्थापन प्रमुख समस्याका रूपमा रहेका छन् । बजारमा प्लास्टिकका कृत्रिम माला भित्रिँदा स्थानीय फूलको बिक्री प्रभावित हुने गरेको किसानको गुनासो छ । पुष्पखेती विस्तारका लागि स्थानीय सरकारले पर्याप्त प्राथमिकता र प्रोत्साहन दिन नसकेको उनीहरूको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र डडेल्धुराले भने पुष्पखेतीलाई प्रोत्साहन गर्न बीउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र आवश्यक प्राविधिक सहयोग विस्तार गर्न सके पुष्प व्यवसायले युवालाई आफ्नै गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images