images
images
  • नौ वर्षदेखि अलपत्र चारलेन सडक बनेपछि फेरियो खजुरा बजारको मुहार

    काठमाडौंल – नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भएपछि बाँकेको खजुरा बजारको स्वरूप फेरिएको छ। नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा बजार क्षेत्रमा सडक स्तरोन्नति भएपछि स्थानीय तथा यात्रुले लामो समयदेखि भोग्दै आएको सास्ती हट्ने अपेक्षा गरिएको छ ।

    खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर सडक निर्माणको जिम्मा पाएको तत्कालीन निर्माण कम्पनीले काम अधुरै छाडेपछि सडक डिभिजनबाट हुलाकी राजमार्ग निर्देशनालयले जिम्मेवारी लिएर स्तरोन्नति गरेको हो ।

    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार बजार क्षेत्रमा १६ मिटर चौडाइको अस्फाल्ट कालोपत्रे र करिब दुई मिटरको फुटपाथ निर्माण गरिएको छ । एक हजार ८०० मिटर सडक र त्यसअन्तर्गत पर्ने पेडारी नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर काम सम्पन्न गरिएको उहाँले बताए ।

    योजना कार्यालय प्रमुख भण्डारीका अनुसार मैटहवा–एनएटी–स्टेटलाइट जेभीले सडक निर्माणको ठेक्का पाएको थियो । कार्यालयका अनुसार सडक निर्माणका लागि सात करोड रुपैयाँभन्दा बढी लागतको ठेक्का सम्झौता गरिएको थियो ।

    नेपालगञ्ज–गुलरिया हुलाकी सडकको २७ किलोमिटर खण्ड निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि खजुरा बजार क्षेत्रको सडक भने लामो समय अलपत्र थियो । विसं २०७४ मा सडक डिभिजनले चारलेन सडक निर्माणका लागि ठेक्का लगाएको थियो। तर, निर्माण कम्पनीले काम गुणस्तरहीन र अधुरो छाडेपछि हुलाकी राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षौँसम्म सास्ती खेप्नुपरेको थियो।

    खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक स्तरोन्नति भएपछि बजारको मुहार फेरिएको बताए । उनका अनुसार गजुरमुखी कन्स्ट्रक्सन कम्पनी इलामले विसं २०७४ चैतमा निर्माण सुरु गरेको सडक २०७७ चैतसम्म सम्पन्न गर्नुपर्ने थियो । तर, पटकपटक म्याद थप्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना पूरा हुन सकेन।

    निर्माण गरिएको सडकसमेत गुणस्तरहीन भएपछि स्थानीयले पटकपटक आन्दोलन र विरोध गरेका थिए । स्थानीयको निरन्तर दबाबका बाबजुद निर्माण कम्पनीले काममा सुधार नगरेपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो ।

    त्यसपछि सडकको जिम्मेवारी हुलाकी राजमार्ग निर्देशनालयले लिएर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाएको हो । सडक स्तरोन्नति भएसँगै खजुरा बजारको आवागमन र पहुँच सहज हुनुका साथै बजारको विकासमा समेत सहयोग पुग्ने अध्यक्ष विकले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images