images
images
  • ढोरपाटनमा विदेशी सिकारीको चहलपहल, पदयात्रामा रमाउँदै आन्तरिक पर्यटक

    काठमाडौं – प्राकृतिक सौन्दर्य, हिमशृङ्खला र फराकिला पाटनका लागि परिचित ढोरपाटनमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी नाउर र झारलको सिकारमा व्यस्त छन् भने ढोरपाटन उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका छन् ।

    नेपालमा कानुनी रूपमा सिकार खेल्न पाइने एकमात्र क्षेत्र ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्षको पहिलो सिकार याम सञ्चालन भइरहेको छ । असोजदेखि मङ्सिरसम्म चल्ने यस याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन् ।

    ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार भइरहेको छ। यस याममा ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन् ।

    रसिया, अमेरिका, स्पेन, डेनमार्क, फ्रान्सलगायत देशबाट धनाढ्य सिकारी ढोरपाटन आउने गरेको सुवेदीले बताउनुभयो। विदेशी सिकारीको गतिविधि उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहे पनि ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

    विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिसँग रमाउन तथा पदयात्रा गर्न पर्यटक ढोरपाटन पुग्ने गरेका छन् । कुनै समय विदेशी पर्यटक र सिकारीमाझ मात्र परिचित ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा पर्न थालेको छ । काठमाडौँ, चितवनलगायत विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन् । आन्तरिक पर्यटक भने स्थलमार्ग हुँदै ढोरपाटन आएर त्यहाँबाट बुकीपाटनसम्म पदयात्रा गर्ने गरेका छन् । विदेशी सिकारी सिकारमा रमाउने र स्वदेशी पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको उनले बताए ।

    ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् । सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारीसमेत खटिने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ ।

    ढोरपाटनमा वर्षमा दुई सिकार याम सञ्चालन हुन्छन् । पहिलो याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म चल्ने व्यवस्था छ । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको सिकार ब्लकमा सिकार सम्पन्न गर्नुपर्ने हुन्छ ।

    गत आर्थिक वर्षका दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो। त्यसबाट चार करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको पाइएको छ ।

    पर्यटक आगमन बढेसँगै ढोरपाटनमा होटल तथा घरबास सञ्चालन पनि विस्तार हुँदै गएको छ । सिकार पर्यटनका अतिरिक्त पदयात्रा, प्राकृतिक दृश्यावलोकन र स्थानीय संस्कृति यहाँका प्रमुख पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेका छन् ।

    विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images