काठमाडौं-नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने छ । हुन पनि नेपालमा नर्सले १०-१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू विदेशिन बाध्य हुनुपरेको हो । त्यसमाथि कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् । उनीहरूले विदेशमा दुःख गरेर राम्रो कमाइ त गर्छन् तर खर्च पनि त्यहीअनुसार हुने र कर पनि त्यहीअनुसार तिर्नुपर्ने हुनाले कतिपय मुलुकमा भने बचत धेरै हुँदैन ।
पछिल्ला वर्ष खाडीमा नेपाली नर्सको नयाँ गन्तव्य बन्दैछ । सेवा, सुविधा र पारिश्रमिकको हिसाबले नेपाली नर्सले यहाँ राम्रो कमाइ गर्न थालेका छन् । दुई वर्षअघि ललितपुर, हरिसिद्धिकी सोफिया महर्जन साउदी अरबमा अन्तर्राष्ट्रियस्तरको अस्पतालमा काम गर्न जानुभयो । अहिले उहाँ नेपाल फर्किसक्नुभएको छ । आफ्नो अनुभव सुनाउँदै भनिन्, “साउदी अरब नर्सका लागि तलब सुविधादेखि सुरक्षाका दृष्टिकोणले धेरै राम्रो छ । त्यसैले नर्सका लागि यो देश उत्कृष्ट गन्तव्य हो । मैले पनि यहाँ मासिक डेढ लाख रुपियाँ सजिलै कमाउँथेँ । ओभरटाइम गर्ने हो भने योभन्दा धेरै कमाउन सकिन्छ ।”
नेपालका नर्स खाडी राष्ट्रमध्ये साउदी अरबमा सबभन्दा धेरै छन् । यहाँ अहिले ३२० जना नर्स विभिन्न अस्पताल तथा मेडिकल सेन्टरमा काम गरिरहेका छन् । यसपछि युएई, कुबेत, ओमान, बहराइन र कतारमा छन् । कतारमा नेपाली नर्स केही मात्र छन् भने अन्य देशमा नगन्य छन् । साउदी अरबमा भने एउटै अस्पतालमा ४० जना नेपाली नर्स काम गरिरहेका छन् । साउदी अरब जाने नर्सलाई तलबभत्ता मात्र होइन, खानेबस्ने, यातायात आदि सुविधा पनि काम गरिरहेको अस्पतालले उपलब्ध गराउँछ । उनीहरूले पाउने तलबमा पनि कुनै पनि कर लाग्दैन ।
साउदी अरबको साउदी–जर्मन अस्पतालमा काम गर्न तीन वर्षअघि जानुभएकी नर्स उमा श्रेष्ठले भनिन्, “मलाई दुई लाख रुपियाँ जोगाउन कुनै गाह्रो छैन ।” उनको नियमित तलब मासिक एक लाख ५० हजार रुपियाँ हुन्छ । ओभरटाइम गर्दा अर्को एक लाख रुपियाँसम्म कमाइ हुन्छ । मासिक तलब डेढ लाख र ओटी एक लाख गरेर दुई लाख ५० हजारसम्म उहाँले कमाउनु हुन्छ । खानामा न्यूनतम १५-२० हजार रुपियाँ खर्च हुन्छ । यसरी मासिक दुई लाख रुपियाँ बचत हुने उनको भनाइ छ ।
नर्सका लागि पश्चिमा मुलुकभन्दा खाडी मुलुक रोजगारीका लागि सजिलो भएको छ । युरोपरअमेरिका जान नै १५र२० लाख रुपियाँ खर्च गर्नुपर्छ । फेरि यहाँका देशमा नेपालको पढाइले मात्र पुग्दैन, थप अध्ययन पनि गर्नुपर्छ । त्यहीँको काउन्सिलमा रजिष्ट्रर हुनुपर्छ । अस्पतालमा रोजगार पाउन पनि मुस्किल हुन्छ । सुरुमा त ‘होमकेयर’ मा काम गर्नुपर्ने हुन्छ । खाडी मुलुकमा भने अन्तर्राष्ट्रिय अस्पतालमा काम गर्नका लागि यस्तो कुनै झन्झट बेहारिरहनु पर्दैन । प्रक्रिया थालेको एक महिनामै अरब पुगेर राम्रो अस्पतालमा काम गर्न सकिन्छ । ‘‘अमेरिका, युरोप जान धेरै झन्झट गर्नुभन्दा अरब राष्ट्रमा आएर काम गर्नु सजिलो हुन्छ,’’ नर्स शान्ति खालिङ भन्छिन्, “निःशुल्क आउन पाइन्छ, तलब पनि डेढ÷दुई लाख रुपियाँसम्म हुन्छ ।”
साउदी अरबलगायत खाडी देशमा नेपालका नर्सले कामका लागि जान नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागबाट स्वीकृति लिनुपर्छ । विभागबाट श्रम स्वीकृति लिएर मनास्लु इन्टरनेसनल सर्भिसेसबाट तीन सयभन्दा बढी नर्स हालै खाडी मुलुक पुगिसकेका छन् । मनास्लु इन्टरनेसनल सर्भिसेसका अध्यक्ष बालकृष्ण श्रेष्ठले श्रम स्वीकृतिलगायत कामको प्रक्रिया एक महिनाभित्र सकिने बताए । उनले नर्सलाई साउदी अरब निःशुल्क पठाइने भन्दै यो खर्च काम गर्न जाने अस्पतालले बेहोर्ने गरेको बताउनुभयो । साउदी अरबमा प्रवीणता तह नर्सिङ गरेका नर्सले पनि कम्तीमा एक लाख २० हजार रुपियाँ न्यूनतम पारिश्रमिक पाउँछन् । ओभरटाइम गर्दा थप कमाउँछन् । वर्षमा ३० दिन सञ्चित बिदा पाउँछन् । बिदा नलिएमा यसबापत पारिश्रमिक पाउँछन् ।
सन् २०२० भन्दा अघि नेपाली नर्स नगन्य मात्र खाडी राष्ट्रमा काम गर्न गएका थिए । सन् २०२० फेब्रुअरी २९ मा अरब राष्ट्रमा नेपाली नर्स तथा डाक्टरहरूलाई रोजगारीको अवसरबारे अन्तर्राष्ट्रिय रोजगार सम्मेलन, काठमाडौँमा आयोजना भयो । यस अवसरमा अरब राष्ट्रमा नर्स, डाक्टर कम उत्पादन हुन्छन् । नेपालमा उत्पादन भएका नर्स, डाक्टरलाई खाडी राष्ट्रको रोजगारी राम्रो अवसर हुनसक्ने बताइएको थियो । यही बेलादेखि खाडी देशमामा नर्स तथा डाक्टरहरू कामका लागि जान थालेका हुन् ।
नर्सले नेपालमा १५ हजार रुपियाँ कमाउन मुस्किल पर्छ तर खाडी मुलुकमा दुई लाख रुपियाँभन्दा बढी कमाउन सकिने प्रमुख श्रेष्ठ बताए । फेरि जाँदाजाँदै अस्पतालमा नै क्लिनिकल काम गर्न पाइन्छ । युरोप, अमेरिकामा जस्तो सुरुमा ‘होमकेयर’ मा काम गर्नुपर्दैन । त्यसैले यी राष्ट्र नर्सहरूको रोजाइमा परेका हुन् । ‘मेडिकल करिअर अन मिडिल इस्ट कन्फ्रेन्स’ ले गर्दा नै आफू साउदी अरबमा काम गर्न आएको बताए। डा.राजन जीसीले साउदीमा मासिक पाँच लाख रुपियाँभन्दा बढी कमाउँदै आएको जानकारी पनि दिए ।
डा.जीसी साउदी जानुपूर्व राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्थे ।डा.जीसीका अनुसार खाडी मुलुकमा काम गर्न नेपालभन्दा धेरै सजिलो छ । कामअनुसारको पारिश्रमिक, ओभरटाइम गर्न पाइने, स्वास्थ्य बीमा, जीवन बीमालगायत सेवा सुविधाले यहाँ डाक्टर र नर्सलाई धेरै राम्रो अवसर छ ।
यस्तै अस्मिता उप्रेती नेपालमा हुँदा मेडिसिटी अस्पतालमा काम गर्थिन्।धेरै तलब र सुविधा हुने भएकाले साउदी अरबमा गएकी हुन् । “हामी एकै ठाउँमा नौजना नेपाली नर्स कार्यरत छौँ,” उप्रेतीले भनिन्, “यहाँ आइसकेपछि काम गर, पैसा कमाउ भन्ने उद्देश्य हुन्छ । तलब भने सम्झौताअनुसार हुन्छ ।”
पछिल्लो समय नर्सिङ अध्ययन गर्ने अधिकांशको चाहना र सपना भनेको विदेश जाने नै हो । विदेशमा पनि अमेरिका, अस्ट्रेलिया तथा युरोपका देश रोजाइमा पर्छन् । कति नर्स कुन देशमा गए भन्ने तथ्याङ्क नेपाल नर्सिङ काउन्सिल र नेपाल नर्सिङ एसोसिएसनसँग छैन तर हजारौँको सङ्ख्यामा नेपाली नर्सहरू विदेशिएका छन् ।
यसैगरी शान्ति खालिङ राईले सात वर्षसम्म सरकारी अस्पतालमा काम गरेकी थिईन्। उनले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काम गरेको हो । सरकारी अस्पतालको तलब र सेवासुविधा पनि थोरै भएपछि उहाँ साउदी अरब जाने निर्णयमा गरिन् । साउदी गएको पनि एक वर्ष भइसक्यो । साउदीको ओजोन मेडिकल ग्रुपमा कार्यरत शान्ति काम र दाम दुवैबाट सन्तुष्ट छिन् । निशा शाह हाल साउदी अरबको जेड्डा नेसनल अस्पतालमा कार्यरत गरेकी थिईन् ।
उनले विराटनगरस्थित हाम्रो स्कुल अफ नर्सिङ कलेजबाट बीएस्सी नर्सिङ गरे । पढाइ सकेपछि उनले विराट नर्सिङ होममा दुई वर्ष जति काम गरे । विराटनगरकै सञ्जीवनी अस्पतालमा इञ्चार्जको रूपमा पनि काम गरेकी थिईन् । त्यसको एक महिनापछि साउदी अरब गएर काम गर्न थाले । अहिले साउदी अरबमा नेपालभन्दा धेरै राम्रो सेवा सुविधा पाएको उनले बताईन् ।अपरेसन थिएटरमा कार्यरत शाहलाई सुरुमा त गाह्रो भयो रे । साउदीको वातावरण र नेपालको वातावरण फरक छ । भाषा पनि फरक छ । विस्तारै यहाँको भाषा बुझ्न थाल्नुभयो र सजिलो पनि हुँदै गयो रे ।

साउदी अरबमा पनि छुट्टै लाइसेन्स परीक्षा पास गर्नुपर्छ । नेपालको नर्सले काम गर्न त पाउँछन् तर अस्थायी रूपमा । एमओएच परीक्षा पास गरेपछि भने खुला रूपमा काम गर्न सकिन्छ । शाहका अनुसार त्यहाँ नेपालमा भन्दा धेरै गर्मी त छ तर गर्मीको महसुस हुनै पाउँदैन । अस्पतालमा एसी, बस्ने कोठामा एसी र गाडीमा एसी भएकाले गर्मीको कुनै महसुस नै हुँदैन । त्यहाँ ५२ डिग्रीसम्म तापक्रम हुन्छ । बस्नका लागि पनि अस्पतालले नै व्यवस्था गरिदिएको हुन्छ । पानी, बिजुली, बत्ती सबै अस्पतालले नै बेहोरिदिन्छ ।
साउदी अरबमा काम गर्ने नर्स बाहिरी देशका धेरै छन् । त्यहाँ नर्सको उत्पादन थोरै हुन्छ । जबकी बाहिरबाट तीन हजार पाँच सय रियालमा नर्स ल्याउन सकिन्छ भने त्यहीँका नर्सको तलब २० हजार रियालसम्म हुने गरेको छ । साउदीमा नर्सिङ अध्ययन गर्न धेरै नै महँगो भएकाले कोही कोहीले मात्र यो विषय पढ्छन् । साउदी सरकारले यतिखेर भने नर्सिङ जनशक्ति बढाउने नीति बनाएको छ । यहाँका मानिसको मानसिकतामा अझै परिवर्तन हुन सकेको छैन । छोरी मानिसले राति काम गर्न हुँदैन भन्ने मान्यता छ । हुन त साउदी नारी पनि डाक्टर भइसकेका छन् । सन् २०३० सम्म साउदी नर्स र डाक्टरले नै यो क्षेत्रको माग पूरा गर्ने भन्ने नीति बनेको छ । साउदी अरबमा नेपालबाहेक अमेरिका, युरोपेली देश, भारत, जोर्डन, फिलिफिन्स, मोरक्को, पाकिस्तान, सिरिया, इन्डोनेसियालगायत देशका नर्स कार्यरत छन् ।
साउदी अरबमा प्रवीणता तह नर्सिङ गरेका नर्सले पनि कम्तीमा एक लाख २० हजार रुपियाँ न्यूनतम पारिश्रमिक पाउँछन् । ओभरटाइम गर्दा थप कमाउँछन् ।अब साउदी अरबमा पनि महिलाहरू खुल्न थालेका छन् । अहिले महिलालाई सवारी चालक अनुमति पत्र पनि दिन थालिएकोे छ । यहाँका नर्सहरू पनि युरोप, अस्ट्रेलिया जान लालायित छन् । यसका लागि लाखौँ खर्च गर्छन् तर आफ्नो व्यावसायिक काम पाउन यी देशमा गाह्रो हुन्छ । त्यहाँ पहिले ‘होमकेयर’मा काम गर्नुपर्छ भनेर त माथि पनि उल्लेख गरिएको छ ।
अरबको आधारभूत तलब एक लाख २० हजार रुपियाँ हो । ओभरटाइमसमेत गर्न पाइयो भने दुई लाख १० हजार रुपियाँसम्म कमाइ हुन्छ । त्यसमा २० हजार जति खर्च हुन्छ । त्योबाहेक सबै बचत हुन्छ । तलबमा कुनै किसिमको कर लाग्दैन । बीमा पनि राम्रो ‘ग्रेड’को गरिएको हुन्छ । यसले आर्थिक अवस्था धेरै राम्रो हुन्छ । सुरुमा तीन हजार पाँच सय रियालमा काम गर्न भनेर जानु भएकी निशा शाह अहिले तीन हजार आठ सय रियाल मासिक कमाई हुन्छ । तीन हजार पाँच सय रियाल भनेको एक लाख १५ हजार रुपियाँ हो । खाना खर्च आफैँले बेहोर्नु पर्छ । खाना खर्च १० हजार रुपियाँ पुग्छ ।
नेपालका नर्स खाडी राष्ट्रमध्ये साउदी अरबमा सबभन्दा धेरै छन् । यहाँ अहिले ३२० जना नर्स विभिन्न अस्पताल तथा मेडिकल सेन्टरमा काम गरिरहेका छन् । यसपछि युएई, कुबेत, ओमान, बहराइन र कतारमा छन् । कतारमा नेपाली नर्स केही मात्र छन् भने अन्य देशमा नगन्य छन् । “फेरि नर्सिङ पढेर विदेश जाँदा महिनामा दुई तीन लाख कमाउँछन् भने नेपालमा सरकारी अस्पतालमा २८ हजार रुपियाँभन्दा बढी हुँदैन । निजी अस्पतालको त कुरै नगरौँ । त्यहाँ मासिक १० देखि १५ हजार रुपियाँ मात्र पाउँछन् । आफूलाई अन्तर्राष्ट्रियस्तरका अस्पताल भन्नेले पनि बढीमा २० हजार रुपियाँभन्दा बढी तलब दिँदैनन् । यस्तै कारणले पछिल्ला समय सरकारी अस्पतालमा कार्यरत नर्सहरू पनि धमाधम जागिर छाडेर विदेशिन बाध्य छन् ।


विश्व खबर 



















