काठमाडौ- सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनाल सोमबारबाट बिदा भएका हुन् ।
उनलाई फौजी परम्परा अनुसार बिदाई गरिएको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गर्दै बिदाई गरे।
यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाललाई संघकी उपाध्यक्ष ज्योती केसीले फूलमालासहित बिदाई गरिन्।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसै अवसरमा सांगठनिक विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे।
सशस्त्र प्रहरीमा सोमबारदेखि आईजीपी रिक्त भएपनि सरकारले आईजीपी नियुक्त गरेको छैन। अब एआईजी केसी र पौडेल मध्य एकजनालाई आईजीपी नियुक्त गर्नुपर्नेछ।
नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन:
खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए । उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन ।
सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ । हाल एआईजी रहेका दुईजनामध्येबाट सरकारले एकजनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ । २१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी पुष्पराज केसी र रामशरण पौडलको दाबी छ । दुवैजना खनालकै ब्याचमेट हुन् । उमेर हदका कारण १९ वैशाखमा उनीहरूले अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने छ ।
नयाँ नेतृत्वका लागि बढुवा सिफारिस समितिले सिफारिस गर्नुपर्छ । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयन गर्नेछ । तर, अहिलेसम्म बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन । लोकसेवा आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव र गृहसचिव नेतृत्वमा रहने बढुवा समितिले महानिरीक्षक सिफारिस गर्छ ।
नयाँ नेतृत्वका लागि को-को प्रतिस्पर्धी :
२१ दिने कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि तीब्र प्रतिस्पर्धा देखिएको छ । हालका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दौडमा छन् । अर्याल र पौडेल २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । गौतम भने २०५२ वैशाखमा नेपाली सेनाको सहायक सेनानीबाट आएका थिए । सशस्त्र प्रहरीको स्थापनासँगै उनीहरू २०५८ मा एकैपटक सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।
हाल अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो वरीयतामा छन् । वरीयतामा चौथो नम्बरमा रहेका डिआइजी वंशीराज दाहाल पनि एआईजीको दौडमा छन् । सशस्त्र प्रहरी बलमा दुईजना मात्रै एआईजी रहने व्यवस्था छ ।
अहिलेका डीआईजीमध्ये दुईजनालाई एआईजीमा नियुक्त गर्ने र उनीहरूमध्येबाट एकजनालाई आईजीपीमा नियुक्त गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिलेदेखि नै प्रक्रिया थाल्नुपर्ने हुन्छ । तर, बढुवा सिफारिस समितिले त्यस्तो गर्न सकिरहेको छैन ।
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ । अर्कोतिर यही समयमा नेतृत्व परिर्वतन हुन गइरहेको छ । नेपाल प्रहरीमा भने हाल आठजना एआइजीको दरबन्दी छ । तीन दरबन्दीबाट बढाएर आठ दरबन्दी पुर्याइएको थियो । सशस्त्र प्रहरीमा भने दुईजनाको मात्रै दरबन्दी छ । जसले गर्दा धेरै अधिकारीहरू डीआईजीबाटै घर फर्किनुपर्ने अवस्था छ ।























