images
images
  • एकीकृत समाजवादी किलो र क्वीन्टल मात्र होइन, दशौं टनको बन्दैछ- नेता खनाल

    काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई किलोको ढक भनेकामा आपत्ति जनाएका छन् । केही दिनअघि ओलीले एमाले क्वीन्टलको ढक हो भन्दै अरु पार्टीलाई किलोको ढक भनेका थिए ।

    शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले आफ्नो किलो र क्वीन्टल नभई टन (मेट्रिक टन) को बनिरहेको दावी गरे ।

    अहिले प्रत्येक जिल्लामा एकीकृत समाजवादीको अकार ठूलो भएको भन्दै उनले भने ‘टन मात्र होइन, दशौं टनको बन्दैछ ।’

    साथै उनले नेपाललाई उपभोक्ताको देश बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । राजाका पालामा स्थापना उद्योगहरूसमेत निजीकरण गरेर खत्तम पारिएको बताएका हुन् ।

    उनले भने, ‘३ करोड नेपालीले एक वर्षमा दुई जोर जुत्ता फेर्दा पनि वर्ष ६ करोड जुत्ता बिक्री हुन्थ्यो । तर स्वदेशमा उत्पादन हुने बाँसबारी जुत्ता कारखाना कहाँ गयो ?’ उत्पादन हुन थालेका कारखाना बन्द गराएर आज नेपालीहरू विदेशी कागज, कपडा प्रयोग गर्न बाध्य भएको उनको भनाइ थियो ।

    खनालले समाजवादको बाटो भनेकै देशमा उद्योग धन्दा, बजार बनाउनु र उपभोग गर्ने वातावरण बनाउनु पनि भएको जिकिर गरे । ‘देशलाई औद्योगीकरण गर्ने हो भने समाजवादको बाटो जानुपर्छ,’ उनले भने । शिक्षालाई उत्पादनमूलक र निःशुल्क बनाउनुपर्ने पनि उनको जिकिर थियो ।

    फरक प्रसङ्गमा नेकपा हुँदा एउटा ठुलो अवसर गुमाएको पनि स्मरण गरे । केन्द्रमा दुई तिहाइ बहुमतको सरकारदेखि प्रदेशमा ६ वटा सरकार बनाउँदा क्रान्तिको अवसर भएपनि नेकपा चुकेको उनको भनाइ थियो । ‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ । तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images