काठमाडौं- उपत्यकामा आज घाेडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ ।
चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेकाे छ । नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ ।
उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ ।
पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथन समेत रही आएको छ । हाल आएर हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा मनाउने गरिएको छ । जनविश्वासमा आधारित यस परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडेजात्राको दिन नेपाल क्याभ्लरीकाे कमाण्डिङ अफिसरकाे नेतृत्वमा घोडाघोडीबाट कौशलपुर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्ने गरिन्छ ।
प्रधानमन्त्री सहभागी नहुने :
प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी नहुने भएका छन् । अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य सहभागी हुन्थ्यो ।
तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन् ।
‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने ।
सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडे जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ । तर, प्रधानमन्त्री देउवा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २ः४५ बजे अवतरण गर्ने समय तालिका छ ।


विश्व खबर 




















