जनकपुरधाम- नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत पर्सामा संस्थापन पक्षको प्यानल विजयी भएको छ ।
मत परिणामअनुसार प्रतिद्वन्द्वी श्याम पटेल समूहलाई पराजित गर्दै सभापतिमा जनार्दन सिंह क्षेत्रीको प्यानल विजयी भएको हो ।
नेता क्षेत्री प्रतिद्वन्द्वी पटेल भन्दा ४ सय ६५ मत बढी ल्याएर निर्वाचित भएका छन् । निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाउँदा पटेलले ६ सय ४५ मत मात्रै पाए । सिंहलाई क्षेत्र नम्बर १ बाट ११९, क्षेत्र नम्बर २ बाट २२३, क्षेत्र नम्बर ३ बाट ३७७ र क्षेत्र नम्बर ४ बाट ३९१ मत प्राप्त भएको थियो ।
तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको साथ थियो । पटेललाई कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन थियो ।
त्यसैगरी, जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका छन् । कुर्मीले एक हजार २३५ र गुप्ताले एक हजार १०२ मत प्राप्त गरे ।
यस्तै, सचिवमा इम्तियाज आलम एक हजार १८७ र दिनेशकुमार चौधरीले एक हजार १५९ मत ल्याएर विजयी भए ।
त्यसैगरी, नवीन सिंह एक हजार २५३ र मदन राउत अहिरले एक हजार १११ मत प्राप्त गरी सहसचिवमा विजयी भएका छन् ।


विश्व खबर 



















