images
images
  • भारतमा हरेक दिन ६१ गृहिणीले गर्छन् आत्महत्या!

    भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोको पछिल्लो तथ्यांकअनुसार गत वर्ष त्यहाँ २२ हजार ३७२ गृहिणीले आत्महत्या गरेका छन्। यो हिसाबअनुसार भारतमा औसतमा हरेक दिन ६१ अर्थात् प्रत्येक २५ मिनेटमा एक जना गृहिणीले आत्महत्या गर्ने गरेका छन्।

    सन् २०२० मा भारतमा समग्रमा १ लाख ५३ हजार ५२ जनाले आत्महत्या गरेका थिए। तीमध्ये आत्महत्या गर्ने गृहिणीको हिस्सा १४.६ प्रतिशत छ। त्यस्तै आत्महत्या गर्ने महिलाको संख्या पनि ५० प्रतिशतभन्दा धेरै छ।

    यो अवस्था गत वर्षको मात्र होइन। सन् १९९७ मा भारतको एनसीआरबीले तथ्यांक राख्न थालेदेखि नै वार्षिक २० हजारभन्दा धेरै गृहिणीले आत्महत्या गर्दै आएका छन्। सन् २००९ मा यो संख्या २५ हजार ९२ पुगेको थियो। रिपोर्टमा भने उनीहरुले आत्महत्या गर्नुको कारण पारिवारिक समस्या वा विवाहसँग जोडिएको मुद्दा रहेको बताइने गरेको छ।

    तर यसमा अन्य विभिन्न कारण पनि छन्।

    घरेलु हिंसा

    मानसिक स्वास्थ्य विशेषज्ञहरुका अनुसार यसको एउटा प्रमुख कारण घरेलु हिंसा पनि हो। हालै गरिएको एक सरकारी सर्वेक्षणमा ३० प्रतिशत महिलाले आफूलाई घरमा पतिले घरेलु हिंसा गर्ने गरेको बताएका थिए। दैनिक रुपमा हुने यस किसिमको हिंसाले विवाहलाई एक दमनकारी बनाएको छ र महिलाले आत्महत्या गर्ने गरेका छन्।

    वराणसीकी क्लिनिकल साइकोलोजिस्ट डाक्टर उषा वर्मा श्रवास्तव भन्छिन्, ‘महिला धेरै सहनशील हुन्छन् तर सहने पनि एक सीमा हुन्छ।’

    ‘१८ वर्ष पुग्ने बित्तिकै अधिकांश किशोरीको विवाह हुन्छ। उनीहरु पत्नी र बुहारी बन्छन् र पूरा दिन घरमा खाना बनाउने, सफाइ गर्ने र घरको काम गर्नमा बिताउँछन्। यद्यपि उनीहरुमाथि सबै किसिमको प्रतिबन्ध पनि लगाइन्छ। उनीहरुलाई निकै कम स्वतन्त्रता दिइन्छ र आफ्नो लागि कहिलेकाहीँ मात्र पैसा खर्च गर्न दिइन्छ’, उनले भनिन्।

    उनी थप्छिन्, ‘उनीहरुको शिक्षा र सपनाले कुनै अर्थ राख्दैनन् र उनीहरुको महत्वाकांक्षा बिस्तारै सकिन थाल्छ र उनीहरु निराश बन्न पुग्छन्। उनीहरुको अस्तित्व नै प्रताडना बन्न पुग्छ।’

    उषाका अनुसार वृद्ध महिलाको आत्महत्याको कारण भने अर्कै हुन्छ। उनी भन्छिन्, ‘धेरै महिलाले एक्लोपनको सामना गर्छन्। उनीहरुका सन्तान ठूला हुन्छन् र घरबाट टाढा बस्न थाल्छन्।’

    डाक्टरहरुका अनुसार आत्महत्यालाई रोक्न सकिन्छ। उनीहरु भन्छन्, ‘यदि तपाईंले कुनै एक सेकेण्डको लागि यसलाई रोक्न सक्नुभयो भने यो रोकिन सक्छ।’

    मनोचिकित्सक सौमित्र पठारे भारतमा आवेशमा आएर अधिकांशले आत्महत्या गर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘पतिले घर आउँछ र पत्नीलाई पिट्छ र उनले आफ्नो ज्यान आफैं लिन्छिन्।’

    एक स्वतन्त्र अनुसन्धानका अनुसार आत्महत्या गर्ने एक तिहाइ भारतीय महिलाले घरेलु हिंसाको सामना गरेका छन्। यद्यपि एनसीआरबीको आँकडामा घरेलु हिंसाको उल्लेख गरिएको छैन।

    महामारीले बिग्रिएको अवस्था

    मानसिक स्वास्थ्य एप भायसासँग सम्बन्धित मनोचिकित्सक चैताली सिन्हा भन्छिन्, ‘घरेलु हिंसा झेल्ने महिलाले अनौपचारिक सहयोगबाटै आफ्नो हौसला कायम राख्ने गरेका छन्।’ उनका अनुसार महिलाले रेलमा यात्रा गर्ने वा तरकारी खरिद गर्ने बेलामा आफ्नो एउटा समूह बनाउने गर्छन् र उनीहरुबाट केही मात्रामा साथ पनि पाउने गरेका छन्। सोही समूहमा उनीहरुले आफ्नो मनको कुरा राख्ने गर्छन्।

    उनी भन्छिन्, ‘उनीहरुसँग मन हल्का गर्न कुनै पनि स्थान बाँकी हुँदैन। कहिलेकाहीँ उनीहरुको हिम्मत कुनै एक व्यक्तिसँग हुने कुराकानीमा नै निर्भर रहन्छ।’

    ‘पति घरबाट बाहिर निस्किँदा गृहिणीलाई घरमा रहनु सुरक्षित हुन्छ तर महामारीको बेलामा यो क्रम पनि टुट्यो। उनीरु दिनभर घरमा पतिसँग रहन बाध्य भए। उनीहरु बाहिर निस्किन पनि पाएनन् र आफ्नो दुःखसुख बाँड्ने अवसर पनि उनीहरुलाई मिलेन। यस्तोमा उनीहरुभित्रको रिस, दुःख र उदासीपन भरिँदै गएर र आत्महत्या उनीहरुको अन्तिम सहारा बन्यो’, उनले भनिन्।

    विश्वव्यापीरुपमा भारतमा सबैभन्दा धेरै आत्महत्या हुन्छ। भारतमा आत्महत्या गर्नेमा पुरुषको संख्या विश्वकै एक चौथाइ छ। यस्तै १५ देखि ३९ वर्ष उमेर समूहमा आत्महत्या गर्ने महिलामा भारतीय महिलाको हिस्सा ३६ प्रतिशत छ।

    सही तथ्यांकको अभाव

    मानसिक विकृति र आत्महत्या नियन्त्रणबारे अनुसन्धान गर्ने डाक्टर पठारेका अनुसार भारतको आधिकारिक संख्या नै गलत मानिन्छ र उनीहरुले पूर्णरुपमा सही तथ्यांक सार्वजनि नगर्ने गरेको आशंका रहने गरेको छ।

    उनी भन्छन्, ‘यदि तपाईं मिलियन डेथ स्टडी(सन् १९९८–२०१४ मा २४ लाख घरका एक करोड ४० लाख मानिसमा गरिएको अध्ययन) वा लेन्सेटको अधययनलाई हेर्नुहुन्छ भने भारतमा आत्महत्याको संद्यया ३० देखि १०० प्रतिशतसम्म कम देखाइने गरिएको छ।’

    ‘आत्महत्याको विषयमा अहिले पनि खुलेर कुराकानी हुँदैन। यसलाई कलंकको रुपमा हेरिन्छ र अधिकांश परिवार यसलाई लुकाउने प्रयास गर्छन्। भारतका धनी मानिसहरु स्थानीय प्रहरीको माध्यमबाट आत्महत्यालाई आकस्मिक मृत्यु देखाउने प्रयास गर्छन्। प्रहरीले दिएको विवरण पनि पूर्णरुपमा सही हुँदैन।’

    उनी भारतमा सही तथ्यांक सार्वजनिक गर्ने विधि अपनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘यदि भारतमा हुने आत्महत्याको संख्या हेर्ने हो भने यो निकै कम छ। विश्वभर सामान्यरुपमा वास्तविक संख्या ४ देखि २० गुणा धेरैसम्म हुन सक्छ। त्यस्तै भारतमा हेर्ने हो भने गत वर्ष डेढ लाख आत्महत्या भएको तथ्यांक रहेकोमा यो तथ्यांक ६ लाखदेखि ६० लाखसम्म हुन सक्छ।’

    सही तथ्यांक नहुँदा आत्महत्याबाट बचाउनुपर्ने समूहलाई पनि बचाउन नसकिएको पठारेको भनाइ छ।

    उनी भन्छन्, ‘संयुक्त राष्ट्रसंघको लक्ष्य सन् २०३० सम्ममा विश्वभर हुने आत्महत्या एक तिहाइसम्म कम गर्ने छ। तर, गत वर्षको तुलनामा भारतको यो संख्या १० प्रतिशत बढेको छ। यस्तोमा लक्ष्य पूरा गर्नु एक सपनाजस्तै हो।’ बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images