काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुगेको छ । भारतको बैंगलुरू, मुम्बई र कर्नाटकापछि दिल्लीमा ओमिक्रोन संक्रमित भेटिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले तान्जानियाबाट आएका एक यात्रीमा ओमिक्रोन भाइरस रहेको जानकारी दिएका हुन् । विमानस्थलमा गरिएको जांचपछि ओमिक्रोन संक्रमित रहेको पत्ता लागेपछि उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
योसँगै भारतमा अहिलेसम्म ओमिक्रोनबाट संक्रमित पाँच जना पत्ता लागेका छन् । भारतमा सबैभन्दा पहिला कर्नाटकमा दुइ संक्रमित गत विहिबार भेटिएका थिए भने तेस्रो केस गुजरातको जामनगरमा भेटिएको थियो । त्यस्तै चौथो केस शनिबार महाराष्ट्रमा पत्ता लागेको थियो ।
दक्षिण अफ्रिकाबाट शुरु भएको ओमिक्रोन पछिल्लो १० दिनमा विश्वका ३५ देशमा पुगिसकेको छ । वैज्ञानिकहरुले ओमीक्रोनले विश्वभर कोरोनाको नयाँ लहर ल्याउने भन्दै सर्तक रहन चेतावनी दिएका छन् । विश्वभर अहिलेसम्म ओमिक्रोनका ४०० भन्दा बढी केस सार्बजनिक भएका छन् । यस भेरिएन्टलाई डेल्टा भन्दा १० गुणा बढी संक्रामक रहेको बताइएको छ ।


विश्व खबर 


















