images
images
  • प्रहरीमा एसपीसम्मले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

    काठमाडौं-नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकृतको अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाशमा पाउँदा उनीहरुले बढुवा पाउनेछन् । यो व्यवस्थामार्फत प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दा प्रहरी हवल्दार र वरिष्ठ प्रहरी हवल्दार पदमा गरेको सेवा अवधि दुवै जोडिने प्रस्ताव छ ।

    प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र वरिष्ठ प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधि पनि गणना हुने व्यवस्था छ । यसले प्रहरी कर्मचारीको मनोबल बढाउन मद्दत गर्ने भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले निर्णयार्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो ।

    केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर भन्छन्, ‘मन्त्रिपरिषद्‍बाट निर्णय भएको सुनेको छु, विस्तृत विवरण आइसकेको छैन । तर यो निर्णय प्रहरीका तल्लो तहका कर्मचारीका लागि ऐतिहासिक हो ।’

    कुँवरका अनुसार विभिन्न प्रहरी महानिरीक्षकको पालामा पनि यो निर्णय गराउने प्रयास भए पनि सफल हुन सकेको थिएन । यसअघि प्रहरी निरीक्षकसम्मका कर्मचारीले १२ वर्षसम्म जागिर अवधि पूरा गरे एक तह बढुवा गर्ने व्यवस्था थियो ।

    तल्लो दर्जामा बढुवामा जाम लागेकाले मनोबल गिरेको भन्दै प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तीन वटा दर्जा पनि थप गरेको छ । थप गरिएका दर्जामा प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार छन् । प्रवक्ता कुँवर भन्छन्, ‘यो निर्णयले तल्लो तहका प्रहरीमा उत्साह ल्याएको छ, अब एउटै पदमा १६, १७ वर्षसम्म बसिरहनुपर्ने समस्या टर्ने भएको छ ।’

    कार्यालय सहयोगीले अब सुब्बा सरहको सुविधा लिएर घर जान पाउने

    कार्यालय सहयोगीको पनि स्तर वृद्धि हुने भएको छ ।हालसम्म प्रहरीमा भर्ना भएपछि एउटै पदबाट अवकाश पाउने कार्यालय सहयोगीले अब सुब्बा सरहको सुविधा लिएर घर जान पाउने भएका हुन् ।

    केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले कार्यालय सहयोगीका लागि पाँचवटा स्तर रहने गरी नियमावली संशोधनका लागि गृह मन्त्रालयसमक्ष प्रस्ताव पठाइएको बताए । उनले भने, ‘प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको सुनेको छु, विस्तृत विवरण आइसकेको छैन ।’

    गृह मन्त्रालय स्रोतका अनुसार श्रेणी विहीन पदमा सुरुमा नियुक्ति हुने प्रहरी कार्यालय सहयोगी प्रथमस्तरका हुनेछन् । पाँचदेखि १० वर्षसम्म सेवा अवधि भएकालाई द्वितीयस्तर कायम गरिनेछ भने १० देखि १५ वर्षसम्मका कर्मचराीलई तृतीय स्तर कायम गरिनेछ ।

    स्रोतका अनुसार १५ देखि २० वर्षभन्दा कम सेवा अवधि भएकालाई चतुर्थ स्तर कायम गर्ने व्यवस्था गरिएको छ भने २० वर्ष वा त्यसभन्दा बढी सेवा अवधि भएकालाई पाँचौ स्तर कायम गर्ने निर्णय भएको छ । हाल सेवामा भएका कार्यालय सहयोगीलाई पनि यो नियम लागू भएसँगै स्वतः स्तर वृद्धि गरिने पनि उल्लेख गरिएको छ । उनीहरुको तलब सरकारले तोके अनुसार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images